गण्डकीमा मानव अधिकार उलंघटनका घटनामा ५०४ जना पीडित

केन्द्रभाग डटकम । २०८१ फागुन ८ गते

गण्डकी प्रदेशमा सन् २०२४ मा गण्डकी प्रदेशमा भएका विभिन्न मानव अधिकार उलंघनको घटनामा परेर ५०४ जना पीडित भएका छन् । सन २०२४ मा राज्य पक्षबाट कुनै मानव अधिकार उल्लंघनका घटना नभए पनि अन्य पक्षबाट सो संख्यामा पीडित भएका इन्सेकले जनाएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा मानव अधिकार वर्ष पुस्ताक विमोचनको सन्दर्भ पारेर पत्रकार भेटघाट कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो । प्रतिवेदनमा महिला तथा बालबालिकामाथि हुने हिंसा अझै गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ ।

इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलका अनुसार गण्डकी प्रदेशमा मानव अधिकार उल्लंघनका घटनामा संख्यात्मक रूपमा केही कमी आएको छ । तर, महिला तथा बालबालिकामाथिको हिंसा भने अझै उच्च रहेको छ । ‘राज्य पक्षबाट उल्लंघनका घटना नभए पनि घरेलु हिंसा, बलात्कार, बाल यौन दुव्र्यवहार जस्ता घटनाहरू निरन्तर भइरहेको देखिन्छ,’ खकुरेलले भने, ‘महिलामाथि हुने हिंसामा परिवारका सदस्य, आफन्त र चिनजानका व्यक्तिहरू नै बढी संलग्न छन् । जसले गर्दा पीडितले न्याय पाउन थप कठिन भइरहेको छ,’ उनले भने ।

इन्सेकको अभिलेखअनुसार सन् २०२४ मा अन्य पक्षबाट ४२९ महिला र ७५ पुरुष गरी ५०४ जना पीडित भएका छन् । घरेलु हिंसामा २१७ जना महिला, बलात्कारमा ४५ महिला, बलात्कारपछि हत्यामा १ जना तथा साइबर अपराधमा २ जना महिला पीडित भएका छन् । गत वर्ष २०२३ मा राज्य पक्षबाट ५ जना पुरुष र अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष गरि जम्मा ६ सय १६ जना पीडित भएका थिए । गत वर्षको तुलनामा यस वर्ष समग्र घटनामा ११२ जनाले कमी हो ।

इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । यस वर्षको प्रकाशनमा वातावरण अधिकारलाई प्राथमिकताका साथ समेटिएको छ । ‘वातावरण विनाशले मानव अधिकारमा पार्ने असरलाई छुट्टै अध्यायमार्फत प्रस्तुत गरिएको छ,’ खकुरेलले भने ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख नितु गर्तौलाले इन्सेकको प्रतिवेदनले गत वर्षको तुलनामा मानव अधिकार उलंघनका घटनामा कमि देखाएको भएपनि अझै धेरै घटनाहरु उजागर नभएको हुनसक्ने आशंका गरिन् । उनले अझैपनि कतिपय घटनाहरु गुपचुप राखिने गरेका उल्लेख गरेकी छन् । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा लगायतले बोलेका थिए ।

Source: https://kendrabhag.com/2025/92165/