गण्डकी प्रदेशको तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक
देवघाट अनलाइन डटकम । पोखरा । २०८० मङ्सिर ६ गते
अभिलेखित घटना अनुसार अन्यपक्षबाट नौ पुरुष र १ सय ९ जना महिला गरी १ सय १८ जना पीडित भए । त्यस्तै तीन जना महिला र दुई जना पुरुष गरी पाँच जनाको हत्या भयो । यस अवधिमा सबैभन्दा बढी महिलाविरूद्ध हुने हिंसाका घटनामा ८९ जना महिला पीडित भए । अन्यपक्षबाट कुटपिटका घटनामा दुई जना महिला र चार जना पुरुष पीडित भए । कुटपिट हुनेमा चिकित्सकहरु पनि पीडित भएको यस त्रैमासिकमा अभिलेख गरिएको छ । अन्यपक्षबाट घाइतेमा एक जना पुरुष पीडित भए । अन्य पक्षबाटबाटै एक जना पुरुष अमानविय व्यवहारबाट पीडित भएका छन् । जातिय विभेदको घटनामा एक जना पुरुष पीडित भए । इन्सेकको अभिलेख अनुसार सन् २०२३ को तेस्रो त्रैमासिकको अवधिमा गण्डकी प्रदेशमा बालबालिकाविरूद्ध भएका हिंसाका घटनामा १५ जना बालिका पीडित भए । यस अवधिमा विधालयमा दिइएको दण्ड सजायबाट एक जना बालिक पीडित भएकी छन् । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनाबाट १० जना बालिका र यौन दुर्व्यवहार घटनाबाट चार जना बालिका पीडित भएका छन् ।
महिला अधिकार अन्र्तगत यस अवधिमा गण्डकी प्रदेशमा महिला हिंसा तथा दुव्र्यवहारका घटनामा ८९ जना पीडित भए । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनामा १४, बलात्कार प्रयास घटनामा दुई र यौन दुर्व्यवहारबाट दुई जना पीडित भए । त्यसैगरी घरेलु हिंसाबाट ६९ जना र बहुविवाहको घटनामा एक जना महिला पीडित भए । साथै बोक्सीको आरोपमा एक जना महिला पीडित भएको अभिलेख गरिएको छ । महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छन् । घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास जस्ता घटना भएको इन्सेकमा अभिलेख छ ।
यस अवधिमा मानव अधिकारको सवालमा चिकित्सा जस्तो महान पेशामा कार्यरत चिकित्सकहरु माथि निरन्तर भएका कुटपिटका घटनाहरु तथा अस्पतामा भएका तोडफोडका घटनाहरुले मानव अधिकारको मात्र नभई समग्र मानवताकै उपहास तथा उल्लङ्घन गरेको छ । आपराधिक घटनाहरुमा भएका दण्डहीनताका कारण पनि यस्ता घटनाहरु निरन्तर दोहोरिने गरेको अनुमान गर्न सकिन्छ । यस अवधिमा अघिल्लो तीन महिनामा जस्तै बाल अधिकारको विषयमा अझैपनि विधालयहरुमा विभिन्न बहानामा दण्ड सजाय दिइने तथा विधालयका प्रधानाध्यापक तथा शिक्षकहरुबाटै बालिकाहरु यौन दुर्व्यवहारबाट पीडित भएका छन् । यस्ता घटनाहरु मिलाउन जनप्रतिनिधिहरुको रहोबरमा बैठकहरु समेत बसेको पाइएको छ । यस्ता मानव अधिकार उल्लङ्घनका घटनाहरुका विषयमा इन्सेकले पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम गरिराखेको छ ।