घरभित्रै सुरक्षित छैनन् छोरी

इकान्तिपुर डटकम । २०८० माघ १४ गते

पछिल्ला पाँच वर्षमा कर्णालीका ६८ छोरी आफन्तबाटै बलात्कृत

सुर्खेत — पश्चिम सुर्खेतको पन्चपुरी नगरपालिका–६ का बाबुले आफ्नै १५ वर्षीयामाथि बलात्कार गरे । बाबुबाट बहिनी बलात्कृत भएको थाहा पाएपछि दाईले प्रहरीमा उजुरी दिए । बलात्कारको घटना लुकाउन उजुरी दिने छोराको निमर्मतापूर्वक उनै बाबुले हत्या गरे ।बहिनीलाई बलात्कार गरेको भन्दै दाजुले गएको १५ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा बाबुविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार ती बालिका आमाको मृत्युपछि मामाघरमा बस्दै आएकी थिइन् । २७ असोजमा भारतबाट फर्किएका बाबुले उनलाई भेट्न बोलाएका थिए । खुसीले बाबु भेट्न पुगेकी उनी उल्टै बाबुबाटै बलात्कृत भइन् ।

 

आफू बलात्कृत भएको घटना सुनाउँदा कान्छी आमाले ‘यस्तो कुरा बाहिर भन्नुहुदैन’ भन्दै सम्झाएको उनको भनाइ छ । आमापछि उनले त्यही कुरा दाजुलाई भनिन् । दाजुले प्रहरीमा जाहेरी दिए ।

घरमा छोरी बलात्कार गरेर फेरि भारत पुगेका बाबुले फोन गरेर छोरालाई आफूविरुद्ध जाहेरी नहाल्न दबाब दिएका थिए । तर छोराले जाहेरी दिएको थाहा पाएपछि गत सोमबार घर फर्केका उनले फेरि छोराको हत्या गरे । त्यसपछि फरार भएका उनलाई प्रहरीले बुधबार कैलालीको टिकापुरबाट पक्राउ गरेको छ । बालिका भने आवाज संस्थाको संरक्षणमा छिन् ।

गत २९ असारमा वीरेन्द्रनगरकै अर्की बालिका पनि घरभित्रै बलात्कृत भइन् । १४ वर्षीया ती बालिकालाई पनि उनकै बाबुले बलात्कार गरेका थिए । जन्मदिने आमाको मृत्युपछि बुवाले दोस्रो बिहे गरे । कान्छीआमा माइत गएको मौका छोपी बाबुले बलात्कार गरेको ती बालिकाको वयान थियो ।

घरमा कोही नभएको मौका छोपेर शरिरमा तेल घस्न पठाई सुत्न जाउ भनी आफु कपडा खोलेर धारिलो चक्कु बोकेर कोठा बन्द गरेर आफुलाई बलात्कार गरेको उनको जाहेरी थियो । बुवाबाट बलात्कृत भएपछि उनी अर्को दिन प्रहरीसमक्ष उजुरी लिएर आइपुगेकी थिइन् ।

बलात्कारका यस्ता विभत्स घटना सुर्खेतमा मात्रै होइन, कर्णालीका अन्य जिल्लाहरुमा पनि बढ्दो क्रममा छन् । इन्सेक कर्णाली प्रदेशका अनुसार सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म ८ बालिका बाबुबाटै बलात्कृत भएका छन् भने २ जना एकाघरका काकाबाट बलात्कृत भएका छन् ।

प्रदेश संयोजक नारायण सुवेदीले पछिल्लो समयमा आफन्त र हाडनाताभित्रैबाट भएका विभत्स किसिमका बलात्कारका घटनाहरु समेत बढ्दो रहेको बताए ।

आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले आवाज संस्थामा आउने उजुरीमध्ये ७० प्रतिशत बालिकाका उजुरी आउने बताइन् । ४ बालिकादेखि १७ वर्षका बालिकाहरु समेत आफन्तबाटै बलात्कृत भएका उदाहरण उनले सुनाइन् ।

‘घरभित्रै असुरक्षित हुनेहरुमा धेरै जसो आमा गुमाएकाहरु छन् । दाजु, काकादेखि आफ्नै जन्मदिने बाबुले समेत बलात्कार गर्नु भनेको अमानवताको पनि पराकाष्ठा हो,’ उनले भनिन्, ‘छोरीहरु घरभित्रै सुरक्षित छैनन्, समाजमा कसरी सुरक्षित होउन् ?’

त्यस्ता घटनामा बालिकाहरुलाई न्याय पाउन समेत कठिन हुने गरेको उनले बताइन् । ‘महिलामाथि अझै पनि घरभित्रै शोषण छ,’ उनले भनिन्, ‘परिवार र समुदायभन्दा टाढा जाने ठाउँ हुदैन । त्यहीकारण धेरै बालिकाहरु/महिलाहरु आफू अन्याय सहेर पनि घटना लुकाउँछन् ।’

५ वर्षमा आफन्तबाटै ६८ छोरी बलात्कृत

नेपाल प्रहरीको तथ्यांकअनुसार पनि कर्णालीमा हाडनाता करणी बढेको देखिन्छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला पाँच वर्षमा हाडनाता करणी भएका ६८ घटना बाहिरिएका छन् ।

त्यसमध्ये आफ्नै बुवाबाट बलात्कृत भएका २३, दाजुभाईबाट १३ र हाडनाता करणीका अन्य उजुरी समेत गरी ६८ वटा उजुरी छन्।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक बीरबहादुर वलीले यो अवधिमा सुर्खेत र सल्यानमा यस्तै प्रकृतिका धेरै अपराध भएका छन् । चेतना र मदिरा सेवनका कारण यस्ता घटना बढ्दै गएको उनको भनाइ छ ।

‘समाज आपराधिक मनोवृत्तितिर बढेको छ,’ उनी भन्छन्, ‘घरमा सुरक्षित नभएका छोरीहरु अन्त के आश गर्ने ?’

समाजमा आफन्तबाट बलात्कारका घटना बढ्दै जाँदा समाजमा आपसी मित्रता भाइचाराको सम्बन्धमा समेत विश्वासको कमी हुँदै गएको प्रवक्ता वलीको भनाइ छ ।

प्रकाशित : माघ १४, २०८० २०:३३