चितवनमा मानव अधिकार उल्लंघनका घटनामा कमी आएको इन्सेकको तथ्यांक
चितवन । २०७८ पुस १५ गते
चितवनमा गतवर्षको तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको एक तथ्यांकले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले तयार पारेको वार्षिक तथ्यांकले चितवन जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष १८ वटा घटना कम भएको देखाएको छ। इन्सेक चितवनका संयोजक दिपेन्द्र अधिकारीकाअनुसार चितवनमा सन् २०२० मा एक सय दसवटा मानवअधिकार उल्लङ्घन घटना भएका थिए। सन् २०२१ मा भने ९२ वटा घटना मात्रै संकलन भएको उनले बताए। चितवनमा सन् २०२० मा महिला बलात्कारका १५ र बलात्कार प्रयासका ७ वटा घटना भएका थिए। यसवर्ष महिला बलात्कार १६ र प्रयासका ७ वटा घटना चितवन प्रहरीमा दर्ता भएका छन्।
बालिका बलात्कारका ३६ वटा घटना अघिल्लो वर्ष रहेकोमा यसवर्ष २९ वटा रहेको अधिकारीले बताए। गतवर्ष ११ जना बालबालिका यौन दुव्र्यवहारको सिकार भएकोमा चालू वर्ष यो संख्या १८ पुगेको छ, जसमा एक जना बालक छन्। ४ महिला र ५ जना पुरूषको हत्या भएको घटना अघिल्लो वर्ष संकलन भएकोमा चालू वर्षमा ३ पुरूष र १ महिलाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ। यसवर्ष बहुविवाहका १० वटा घटना छन्, अघिल्लो वर्ष १४ वटा थिए। यसवर्ष आत्महत्या दुरूत्साहनका मुद्दा दर्ता भएका छैनन्। अघिल्लो वर्ष ३ वटा घटना भएका थिए। मानव बेचबिखनका ४ घटना अघिल्लो वर्ष भएकोमा यसवर्ष ३ वटा घटना छन्।