जनताको आधारभुत स्वास्थ्य सेवाको लागि मिथिला नगरपालिका संवेदनशिल ः मेयर महतोको भनाई
केएन खबर डटकम । २०७८ माघ ११ गते
धनुषा,०७८ माघ ११ गते । मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले जनताको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा मिथिला नगरपालिका गम्भिर रहेको बताउनुभयो । इन्सेक मधेश प्रदेश कार्यालय जनकपुरको आयोजना तथा मानव अधिकार निगरानी समुहको सहकार्यमा माघ १० गते आयोजना गरिएको स्वास्थ्य अधिकार सम्बन्धीको अन्तरक्रियामा प्रमुख महतोले ११ वडामा १३ ओटा स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सेवा प्रवाह भई रहेको बताउनुभयो । नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा सेवा प्रदान बाहेक घुम्ती स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम, विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण, नगरपालिकाभरका मानसिक रोगीहरुको लागि स्वास्थ्य सेवालगायतको कार्यक्रमहरु लागु गरको बताउनुभयो । उहाँले सर्वसाधारण जनताको स्वास्थ्यसेवामा सहज पहुँचका लागि ढल्केवरमै बर्थिग सेन्टर, सुरक्षित गर्भपतन सेवालगायतको कार्यक्रमहरु समेत संचालन गर्दै आएको बताउनुभयो ।मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले मिथिला नगरपालिकाको ११ ओटा वडामध्ये १३ वटा स्वास्थ्य संस्थामार्फत सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले वडा नं. ११ भौगौलिक हिसावले पहाडी एरिया भएकाले गर्दा त्यहाँ ३ वटा स्वास्थ्य संस्थामार्फत सेवा प्रवाह गरिदै आएको बताउनुभयो ।
सर्वसाधारणहरुको स्वास्थ्य सेवामा सहज पहुँचका लागि नियमित रुपमा स्वास्थ्य सामाग्री, औषधीहरु स्वास्थ्य संस्थामा उपलब्ध गराउँदै आएको बताउनुभयो ।इन्सेक मधेश प्रदेश संयोजक राजु पासमानले अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसका तेश्रो लहरले जनजीवन प्रभावित भई रहेको वेलामा नगरपालिकाहरुले समेत यसको प्रतिकार र सुरक्षा मापदण्डका उपायहरु अपनाउन जरुरी रहेको बताउनुभयो । अहिले स्वास्थ्यसंस्था र विद्यालयहरुमार्फत मास्क र सेनेटरी प्याड समेत वितरण हुन सकेको खण्डमा गरिव, विपन्न परिवारहरुका लागि ठुलो राहत महसुस हुने बताउनुभयो । इन्सेक मधेश प्रदेश कार्यालय जनकपुरको आयोजना तथा मानव अधिकार निगरानी समुहको सहकार्यमा माघ १० गते आयोजना गरिएको स्वास्थ्य अधिकार सम्बन्धीको अन्तरक्रियामा सरोकारवालाहरूले स्वास्थ्य संस्थामा पुग्ने किशोरी तथा महिला विरामीहरुको लागि सेनिटाइजर प्याड र मास्क उपलब्ध गराउनु पर्ने माग गरेका हुन् ।
महिला अधिकारकर्मी विना कडारीले स्वास्थ्यसंस्थाहरुमा कन्डम, पिल्स चक्की निःशुल्क दिइन्छ तर महिलाहरुको लागि निःशुल्क प्याडको व्यवस्था छैन्, यसप्रति नगरपालिका सचेत हुनुपर्ने भन्दै कम्तीमा विद्यालय र स्वास्थ्य संस्थाहरुमा सावुन, पानीसहितको शौचालय र प्याड हुनुपर्ने माग गर्नुभयो । बाल क्वलका अध्यक्ष दिवेश कुमार महतोले विद्यालयमा दैनिक हजारौ विद्यार्थी दिनभर विद्यालयमै अध्ययन गर्ने गरेको र स्वास्थ्य संस्थाहरु विद्यालयभन्दा फरक ठाउँमा हुने भएकाले विद्यार्थीहरु स्वास्थ्य सेवा लिन नसकेकाले घुम्ती शिविरमार्फत भएपनि विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । मिथिला नगरपालिकाले विद्यालय स्वास्थ्य सेवा कार्यक्रम लागु गरेको भएपनि विद्यालयहरुका विद्यार्थीहरु यसको लाभ लिन नसकेको बताउनुभयो ।