जहाज कुर्दाकुर्दै नाबालकको मृत्यु प्रकरणमा प्राधिकरणका महानिर्देशकलाई कारण देखाउ आदेश
कर्णाली टाइम्स डटकम । २०८० भदौ १९ गते
सुर्खेत। पाटन उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाउ आदेश जारी गरेको छ। प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाएर बालकको मृत्यु भएको भन्दै आइतबार परेको रिट परेको थियो। अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा मंगलबार उक्त आदेश जारी भएको हो। प्राधिकरणले साउन १२ मा देशका पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो। अधिवक्ता ओलीले रिटमा हचुवाको भरमा गरिएको उक्त निर्णयका कारण हुम्लाको सिमकोट गाउँपालिका–६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको उल्लेख गरेका थिए। अधिवक्ता ओलीले मृतक नाबालकको परिवारलाई क्षतिपूर्तिको लागि आदेश दिनसमेत माग गरेका थिए। न्यायधीश दुर्गबहादुर विश्वकर्माको एकल इजलासमा निवेदकको तर्फबाट अधिवक्ता ओलीका साथै अधिवक्ताहरु धर्मराज रेग्मी, लोकेन्द्र ओली र शिवराज रिमालले बहस गरेका थिए। ‘माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ को हकमा उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत तथा विपक्षी नं. २ र ३ को हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नुहोला,’ आदेशमा भनिएको छ।
रिटमा विपक्षी पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल नागरिक उड्ययन प्राधिकरण रप्राधिकरणका महानिर्देशकलाई विपक्षी बनाईएको छ। आदेशमा अन्तरिम छलफलका लागि आगामी भदौ २५ गते पेशी तोकिएको छ। रिट माग दावी गरिएको विषय हवाई उडानजस्तो संवेदनशील र हवाई सुरक्षाको विषयसँग सम्बन्धित रहेकाले अर्को पक्षको समेत कुरा सुनी अन्तरिम आदेशको लागि उपयुक्त निर्णय लिइने आदेशमा उल्लेख छ। कर्णाली प्रदेशसभाका पूर्वसांसद समेत रहेका अधिवक्ता धर्मराज रेग्मीले बहसका क्रममा कर्णाली जस्तो क्षेत्रका लागि राज्यले अतिरिक्त सुविधा दिनुपर्नेमा झन् अन्यायपूर्ण निर्णय गर्ने गरेको बताए। अधिकारवादी संस्था र मानव अधिकारवादीहरुले प्राधिकरणका महानिर्देशक अधिकारीको हचुवा र सनकका भरमा गरिएको निर्णयले अकालमा नाबालकको ज्यान गएको भन्दै ध्यानकर्षण भएको जनाएका छन्। नाबालकको मृत्यु भएकै बखत राष्ट्रिय मानव अधिकार आयोगले प्राधिकरणसँग मौखिक स्पष्टिकरण सोधेको थियो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले हवाई उडानमा रोक लगाउँदा जनताले पाएको सास्ती र नाबालकको ज्यान गुमाएको घटना गम्भीर मानव अधिकार हननको सवाल भएको बताए।
Source: https://karnalitimes.com/?p=7730