झन् झन् नाजुक मानव अधिकारको अवस्था

सहीखबर संवाददाता

 
झन् झन् नाजुक मानव अधिकारको अवस्था
 
मकवानपुर/विषम परिस्थितिमा मानव अधिकारको अवस्था झन् झन् नाजुक रहेको मकवानपुरमा रहेर मानव अधिकारको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले बताएका छन् । जब मानव अधिकारको रक्षार्थ सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने बेला आउँछ, तब झन् झन् सरकारी  निकायहरुबाट नै जिम्मेवारी बहनमा कमजोरी देखिने गरेको अधिकारकर्मीहरुले दाबि गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले प्रदेशको समसामयिक मानव अधिकारको अवस्थाबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । इन्सेकले मकवानपुरको हेटौंडामा बुधबार छलफल कार्यक्रम गरेको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले कोरोना संक्रमणको बेलामा स्थानीय निकायहरुले राहत वितरण कार्यक्रम गरेको तर त्यो विभेदकारी भएको औल्याउनु भयो । “सरकारले नागरिकको सम्मान पुर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न पनि जानेन, स्थानीय तहहरुले नै राहत वितरणमा असह्य हुने गरी विभेद गरे” उहाँले भन्नुभयो ।

“लकडाउन गरेर जो जहाँ छ त्यही बस्न निर्देशन दिने सरकार, अनि आफ्ना आफ्ना मान्छे छानेर राहत दिने, बाहिर नागरिकलाई राहत नदिने सरकारका निकायहरु यो कहाँको न्याय हो, कहाँको सम्मान हो नागरिक प्रति” उहाँले भन्नुभयो । स्थानीय तहहरुले आफ्ना नागरिकहरुलाई आफ्ना मतदातालाई छानेर राहत दिंदा अभरमा परेकाहरुमाथि अन्याय भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कोरोना संक्रमणको समयमा शिक्षा, स्वास्थ्य, खाद्य, आवाससँगै नागरिकको आर्थिक सामाजिक सास्कृतिक  अधिकारको सम्मान हुन नसकेको बताउनु भयो । मानव अधिकारको निगरानीको लागि विभिन्न स्थलहरुमा स्थलगत अनुगमनको क्रममा जाँदा मानव अधिकारको अवस्था नाजुक रहेको पाइएको संयोजक गौतमले बताउनु भयो । “हामीले हाम्रो तर्फबाट सरकारलाई दिने सुझाव दिइरहेका छौ” गौतमले भन्नुभयो, “अवस्था नाजुक बनिरहेको छ ।”

कार्यक्रममा माइती नेपाल मकवानपुर संयोजक माया लामा कोरोना संक्रमणपछिको लकडाउनले महिलाहरुमाथि घरेलु हिंसा धेरै भएको बताउनु भयो । “महिलाको लागि लकडाउनुको पिरियर्ड झनै हिंसात्मक भएको पाइयो” उहाँले भन्नुभयो, “परिवारबाट हुने हिंसात्मक व्यवहार बढ्ने र उजुरी गर्न जान समस्या हुने, महिला तथा बालबालिकाको पीडा झन् बढे, सम्बोधन गर्न सकिएन ।” लकडाउनपछि वैवाहिक बलात्कारलगायतको घरेलु हिंसा बढेको उहाँले बताउनु  भयो । यसैगरी बालहेल्प लाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावलीले बाल विवाह बढेको, लकडाउनपछि अनलाईक कक्षा सुरु भएको तर त्यसभित्र पनि अनलाईबाट बालबालिकामाथि हुनसक्ने दुव्र्यवहारप्रति ध्यान दिन नसकिएको उहाँले बताउनु भयो ।

यसैगरी अधिवक्ता अप्सरा बस्नेतले लकडाउनको समयमा भएको हिंसाको दर लकडाउन खुलेपछि अदालतमा दर्ता हुन आएको केशहरुले देखाउन थालेको बताउनु भयो । हाल दैनिक ५ वटासम्म केश महिला हिंसाको बारेमा आउने गरेको उहाँले बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टलगायतले मानव अधिकारको समसामयिक बिषयमाथि टिप्पणी गरेका थिए ।

Source: http://saheekhabar.com/2020/08/06/3109/?fbclid=IwAR39KOLbf63s5D5rbLBkCzalz_yg9OxFIWRpu9WRp8ydP4Q5P1WDUS4PO60