डाक्टर केसीको जीवन रक्षा गर्न इन्सेकको माग

काठमाण्डौं १६ आश्विन २०७७, शुक्रबार १५:३५

व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले आज एउटा प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेकी हुन ।

‘डाक्टर गोविन्द केसी १९ औँ अनशन बस्नुभएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको छानविन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखी अनशनरत डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड-१९ का कारण फैलिएको विश्वव्यापी महामारीको प्रतिकार्य गर्नसमेत सार्वजनिक स्वास्थ्य संचरनाको सुदृढीकरण र असल शासन आवश्यक देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Source: https://kanchulikhabar.com/news/43405