डा.नितेष कनोडियाको अगुवाईमा नरैनापुरका ४३९ विपन्न परिवारलाई राहात वितरण

 


कोरोनाका कारण मृत्यु भएका युवकको घर बनाउन एक लाख सहयोग घोषणा
सिराज खान

नरैनापुर,(बाँके) २९ जेठ । नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेष कुमार कनोडियाको अगुवाई र फिल द बकेट अभियानको नेतृत्वमा विहिबार बाँकेको नरैनापुर गाउँपालिकाका ४ सय ३९ विपन्न र पिडित परिवारलाई खाद्यान्न राहात वितरण गरिएको छ ।
कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित देखिएको नरैनापुर गाउँपालिकाका विभिन्न स्थानका अति विपन्न र पिडित ४ सय ३९ परिवारलाई गाउँमै पुगेर खाद्यान्न राहात वितरण गरिएको मेडिकल कलेजका सहायक निर्देशक डा.कनोडियाले बताउनु भयो ।


जिल्ला प्रशासन कार्यालय बाँके, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र नरैनापुर गाउँपालिकाको विशेष समन्वयमा सो खाद्यान्न राहात वितरण गरिएको उहाँले बताउनु भयो ।
डा. कनोडियाका अनुसार नरैनापुर गाउँपालिका वडा नं. ५ भगवानपुर नयाँवस्तीका २०० परिवार, वडा नं. ४ दौलतपुरका २८ परिवार, वडा नं. १ विर्ताका ४१ परिवार, वडा नं. ५ मोतिपुरका १३ परिवार, वडा नं. ४ घुरदौरियाका ९१ परिवार र वडा नं. ६ सोनवर्षा नयाबस्तीका ५७ परिवार गरि जम्मा ४३९ परिवारलाई उनिहरुकै वडामा पुगेर सो राहात वितरण गरिएको छ ।
वितरण गरिएको राहातमा प्रतिपरिवार २० किलो चामल, ३ किलो दाल, ३ किलो चना, एक किलो नुन र दुईवटा साबुन रहेको छ ।


उक्त राहात वितरण कार्यमा नेपालगन्ज मेडिकल कलेज, इन्सेक प्रदेश कार्यालय, लायन्स क्लब अफ नेपालगन्ज, पीएनएलएफ, एफडब्लुएलडी लगायतले फिल द बकेट अभियानलाई सहयोग गरेको डा. कनोडियाले बताउनु भयो ।
उहाँले उक्त कार्यमा सहयोग र समन्वय गर्ने जिल्ला प्रशासन, सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायत गाउँपालिकालाई समेत विशेष धन्यवाद दिनुभएको छ ।


कोरोनाको संक्रमणबाट धेरैजना पिडित रहेको गाउँपालिकामा आएर विपन्न र पिडित परिवारलाई राहात वितरण गरिदिनु भएकोमा फिल द बकेट अभियानप्रति आभार व्यक्त गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले सो राहातले स्थानीयलाई धेरै सहयोग पुग्ने बताउनु भयो ।
उहाँले यस्तो संकटको बेलामा गाउँमै आएर विपन्नलाई खाद्यान्न उपलब्ध गराउनु भएकोमा यसमा सहयोग समर्थन गर्ने सबैप्रति आभार समेत व्यक्त गर्नुभयो ।


सो अवसरमा इन्सेक प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले नरैनापुरका पिडितलाई राहात वितरण गरेर अतिनै सराहनीय कार्य गरिएको बताउँदै यसले उनिहरुलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल बार एसोसियनका केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।


यसअघि फिल द बकेट अभियानले भारतबाट नेपाल फर्किरहेका करिब २७ हजार नागरिकहरुलाई बाँकेको नेपालगन्ज र कैलालीको गौरीफन्टा नाकामा खाजा, खाना र पानी वितरण गरेको थियो ।
सो अभियानले यसअघि पनि भुकम्प, बाढी र अन्य विपत्तीको बेलामा सहयोग आवश्यक परेका नागरिकलाई सहयोग गर्दै आएको थियो ।


कोरोनाका कारण मृत्यु भएका युवकको घर बनाउन एक लाख सहयोग घोषणा


राहात वितरणका लागि विहिबार नरैनापुर पुग्नु भएका नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. कनोडियाले कोरोनाका कारण मृत्यु भएका नयाँबस्तीका युवकको घर बनाउन एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
डा. कनोडियाले नयाँबस्ती पुगेर मृतकको फुसले बनेको घर देखेपछि अतिनै चिन्तीत हुँदै सो घरलाई पक्की बनाउनका लागि आफुले एक लाख रुपैयाँ दिने घोषणा गर्नुभयो ।
उहाँले सो कार्यमा अरुलाई पनि सहयोग गर्न आग्रह गर्दै सबैले मिलेर सहयोग गर्ने हो भने छिटै घर निर्माण गर्न सकिने बताउनु भएको छ ।


इन्सेक प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले मृतकको घर बनाउन अभियान चलाइने जनाउँदै सहयोग गरेकोमा डा. कनोडियाप्रति विशेष आभार प्रकट गर्नु भएको छ ।
गाउँपालिकाले पनि उनकको घर बनाउनका लागि केही रकम छुट्याउने तयारी गरिरहेको अध्यक्ष शाहले बताउनु भयो । उहाँले मृतकको परिवार निकै विपन्न रहेकोले काज क्रियाका लागि गाउँपालिकाबाट तत्काल ५० हजार रुपैयाँ दिन थालिएको र आफुले पनि आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्न लागेको बताउनु भएको छ ।

Source: https://nepalgunjfm.com/?p=4954&fbclid=IwAR0RYs07f8FpglC7xuLd-JWgYupb2HQmLJgrMaRcLdDcjI28us_wHnENOpc