ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि

रेडियो तमोर डटकम । २०८१ असार २८ गते

ताप्लेजुङ – ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कअनुसार जिल्लामा घरेलु हिंसासम्बन्धी घटना वृद्धि हुँदै गएको पाइएको हो। इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार पछिल्लो छ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटना मात्र १६ वटा भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ तयारी स्वरुप शनिबार आयोजित अर्ध–वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३० वटा घटना भएकोमा सबैभन्दा बढी १६ वटा घरेलु हिंसासम्बन्धी रहेको छ ।

सन् २०२४ को जनवरीदेखि जुनसम्म अर्थात छ महिनाको अवधिमा भएको घरेलु हिंसासम्बन्धी घटनाबाट एकजना पुरुष १६ महिला गरी १७ जना पीडित भएका छन् । घरेलु हिंसासम्बन्धी घटनामा श्रीमान–श्रीमतीबिच अर्थात पारिवारिक झैझगडा बढी रहेको इन्सेक प्रतिनिधि दियालीले जानकारी दिनुभयो । सन् २०२३ मा वर्षभरमा घरेलु हिंसासम्बन्धीका १८ वटा मात्र घटना भएका थिए । 

यस्तै छ महिनामा कुटपिटसम्बन्धी छ वटा, करणीसम्बन्धी छ वटा, जातीय विभेदसम्बन्धी एक र आत्महत्या दुरुत्साहनसम्बन्धी एउटा घटना भएको छ । इन्सेक प्रतिनिधि दियालीले ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी तथा थुनुवा रहेकाले पूर्ण मानवअधिकार कायम हुनमा समस्या रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । कैदीबन्दीको सङ्ख्याअनुसार आवास, शौचालय, खानेपानी लगायतका संरचना व्यवस्थापनले उनीहरुको बसाइमा भने भद्रगोल अवस्था नरहेको कारागारका प्रशासक कुलेन्द्र खवासले जानकारी दिनुभयो ।

अर्ध–वार्षिक समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले यथार्थ तथ्याङ्कसहित अन्य थुप्रै प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटना हुनसक्ने भन्दै प्रतिवेदनमा सबै घटनाहरु समेट्न सुझाव दिनुभयो । प्रतिवेदनमा उल्लेख गरिने घटना र मानवअधिकार वर्ष पुस्तकमा प्रकाशन हुने जिल्लाको विवरण यथार्थ हुनुपर्ने पनि प्रजिअ आचार्यले जोड दिनुभयो ।कार्यक्रममा ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवाल, गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदीलगायतले प्रतिवेदनमाथि टीका–टिप्पणी गर्दै आ–आफ्नो सुझाव दिनुभएको थियो । मानवअधिकार वर्ष पुस्तकमा प्रकाशन हुने जिल्लाको मानवअधिकार उल्लङ्घनसम्बन्धी घटना विवरण यथार्थपरक हुनुपर्नेमा उहाँहरुले सुझाव दिनुभएको छ ।

Source: https://shorturl.at/oxXyV

Source: https://gorkhapatraonline.com/news/115744