देशैभर अमानवीय ज्यादती बढ्दो

हिमाल खबर डटकम । २०७९ फागुन ७ गते

राज्य तथा गैरराज्यपक्षबाट मानव अधिकार उल्लंघनका घटना बढ्दो अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को तुलनामा सन २०२२ मा मानव अधिकार उल्लंघनका घटना बढेको तथ्याङ्क सार्वजनिक गरेको हो। नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ प्रकाशन गर्दै इन्सेक बागमती प्रदेश कार्यालय संयोजक गणेश भण्डारीले राज्यपक्ष कमजोर हुँदा मानव अधिकार संरक्षणको पाटो झन्‌ झन् कमजोर भएको बताए। इन्सेकले गरेको अभिलेख अनुसार, सन् २०२२ मा बागमती प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा एक हजार ४२५ जना पीडित भएका छन्। गत वर्ष सन् २०२१ मा एक हजार १८३ जना पीडित थिए। यस वर्ष मानव अधिकार उल्लंघनका घटनामा राज्यपक्षबाट ३४ जना महिला र ३४१ पुरुष गरी ३७५ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ८७७ जना महिला, १७२ पुरुष र एक जना यौनिक अल्पसङ्ख्यक सहित जम्मा एक हजार ५० जना पीडित भएको भण्डारीले बताए।

यस वर्ष राज्यपक्षबाट भएका मानव अधिकार उल्लंघनका घटना अन्तर्गत कारागारमा रहेका ४५ जनाको स्वास्थ्य लगायतका विभिन्न कारणले मृत्यु भएको उल्लेख छ। साथै, कुटपिटका घटनामा चार जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा चार जना तथा अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकारमा ३० जना महिला र २४५ जना पुरुष गरी २७५ जना पीडित भएका छन्। यसैगरी सन् २०२१ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा एक हजार १७३ जना पीडित थिए जसमा राज्यपक्षबाट ३७५ जना र गैरराज्यपक्षबाट ८९० जना पीडित थिए। इन्सेकका अनुसार, देशको ७७ जिल्लामा रहेका जिल्ला प्रतिनिधिले सङ्कलन गरेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको प्राथमिक सूचनामा आधारित भएर वर्ष पुस्तक सार्वजनिक गरिएको छ।

इन्सेकका अनुसार, देशभर सन् २०२२ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा राज्यपक्षबाट ६२२ जना तथा गैरराज्य पक्षबाट ६ हजार ७५४ जना गरी सात हजार ३७६ जना पीडित भएका छन्। सन् २०२१ मा ६ हजार २८५ जना पीडित थिए। यस वर्ष राज्यपक्षबाट एक जना महिला र चार जना पुरुष गरी पाँच जनाको हत्या भएको छ। यातनाका घटनामा चार जना, गिरफ्तारीका घटनामा ८१ जना, जातीय विभेदका घटनामा २२ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा संगठित हुने अधिकारमा ४०५ जना, धम्कीका घटनामा २७ जना र कुटपिटका घटनामा ४४८ जना पीडित भएको अभिलेख छ। यस वर्ष बाल अधिकार उल्लंघनका घटनामा एक हजार ४१४ जना बालिका र ३९ जना बालक गरी एक हजार ४५३ जना पीडित भए। जसमध्ये बलात्कारका घटनामा एक हजार नौ जना, यौन दुर्व्यवहारको घटनामा ३२६ जना बालिका र १९ जना बालक सहित ३४५ जना बालबालिका, बेचबिखनमा सात जना बालक र ३९ जना बालक सहित ४६ जना, बालविवाहका ३२, नवजात शिशु हत्यामा सात जना र विद्यालयमा शारीरिक सजाय दिइएको घटनामा १४ जना पीडित भएको अभिलेख छ।

साथै, यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा चार हजार २२७ जना पीडित भएको अभिलेख भयो। यस वर्ष महिला बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ४८ जना, घरेलु हिंसाका घटनामा तीन हजार २१ जना, बोक्सीको आरोपमा २३ जना, बलात्कारका घटनामा ६०५ जना, बलात्कार प्रयासका घटनामा १४५ जना, यौन दुर्व्यवहारको घटनामा ४२ जना र बहुविवाहका घटनामा ४२ जना महिला पीडित भएको अभिलेखमा उल्लेख छ। इन्सेकले हरेक वर्ष फागुन ७ गते देशैभरको मानव अधिकारको अवस्थाबारे पुस्तक सार्वजनिक गर्दै आएको छ।

आइतबार, ७ फागुन, २०७९, १५:२०:०५ मा प्रकाशित