निःशुल्क पीसीआर परीक्षण र कोरोना संक्रमितको उपचार गर्न माग

२०७७ कार्तिक १९ गते १७:४६ मा प्रकाशित

 

रामेछाप । कोरोना जाँचको लागि गरिने पीसीआर परीक्षण र कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाउन रामेछापको नागरिक समाजले माग गरेको छ । छिमेकी जिल्लाका स्थानीय सरकारले गरे जस्तै रामेछापमा पनि सो व्यवस्था गर्न नागरिक समाजले माग गरेको हो । इन्सेकसँगको सहकार्यमा मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र मानवअधिकार निगारनी समुह मन्थली समेतको आयोजनामा भएको नागरिक समाजको छलफलले सो माग गरेको संञ्जालका संयोजक पाण्डव प्रसाईँले जानकारी दिनुभयो । नागरिक समाजले शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षाका क्षेत्रका समस्या पहिचान गर्नुका साथै त्यसको लागि निरन्तर पैरवी गर्ने पनि जनाएको छ ।

बैठकले कोरोनाको स्वास्थ्य बिमा गर्नेको बिमा रकम प्राप्तिमा ढिलाई भएको प्रति सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ । संक्रमितले मागदावी गरेको लामो समयसम्म पनि बिमाको रकम पाएका छैनन् । यसैगरी होम आइसोलेसनमा बस्नेले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरेको गुनासो आइरहेकोले त्यसमा सरोकारवालाको ध्यान जानुपर्ने नागरिक समाजको माग छ । होम आइसोलेनमा बस्नेको स्वास्थ्य अवस्थाको नियमित जानकारी र उपचारको प्रवन्ध गर्न पनि नागरिक समाजको माग छ । यसैगरी विद्यालय तथा कलेज खुली पठन पाठन र परीक्षा समेत सञ्चालन भएको अवस्थामा स्वास्थ्य मापदण्डको पालना भए नभएको समेत नागरिक समाजको तर्फबाट निगरानी गरिने पनि बताइएको छ । छिमेकी जिल्ला दोलखामा पीसीआर परीक्षणको निःशुल्क गर्ने तथा संक्रमितको जिल्ला भित्रको उपचार खर्च स्थानीय सरकारले नै व्यहोर्ने निर्णय भए पछि रामेछापमा पनि सो माग उठेको हो ।

Source: https://junelinews.com/2020/11/04/29159/?fbclid=IwAR2fhkk3OVeRHR5w3IXCqun1g-bh5-tcRICUnNjWfXX4fFXGm2dkDNajNiw#