नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक

जाज न्यूज डटकम । २०८१ फागुन ७ गते

विराटनगर,  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक भएको सन्दर्भमा बुधबार विराटनगरमा पत्रकार भेटघाट गरी पुस्तकबारे जानकारी दिइएको छ । काठमाडौमा वर्ष पुस्तक विमोचन भएसँगै बुधबार विराटनगरमा पत्रकारहरुलाई विमोचित पुस्तकबारे जानकारी दिइएको हो ।

इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा भएको ‘कोशी प्रदेशको मानव अधिकार अवस्था र वातावरणीय सरोकार’ विषयक पत्रकार भेटघाट कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले इन्सेकले स्थापनाकालदेखि नै मानव अधिकार अनुगमन, अभिलेख, प्रसार र पैरवीजस्ता क्रियाकलापबाट मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै आएको जानकारी दिनुभयो । इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक, अनलाइन, स्थितिसूचक, प्राचीलगायत विषयगत प्रतिवेदनहरु तथ्य, तथ्यांक, विश्लेषण र अनुगमनको आधारमा पुनर्पुष्टि गरेर मात्र सार्वजनिक गर्ने भएकोले यो विश्वसनीय बनेको तथा यसले मानव अधिकार संरक्षणको पैरवी गर्ने काममा सहयोग पुरयाउँदै आएको पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार प्रलेखन र पैरवीको कार्यले मानव अधिकार उल्लङ्घनका घटना न्यूनिकरण गराउन र नीतिगत तथा कानुनी संरचनामा सुधार ल्याउन सहयोग पुरयाउँदै आएको छ ।

उहाँले कोशी प्रदेशमा कारागारहरू जीर्ण, दयनीय भएको, क्षमताभन्दा तेब्बर सङ्ख्यामा कैदिबन्दी राखिएको बताउनु भयो । सरकारी संरचनाहरु समेत अपाङ्गमैत्री नभएको र कार्यालयहरु महिला र मानवअधिकारमैत्री हुन नसेकेको पोखरेलले बताउनु भयो ।

सुशासन र जवाफदेहीताको खोजी, न्याय र अवसरबाट वञ्चित पार्ने भ्रष्टाचार, प्रकृतिको दोहन र वातावरण विनाशले जीवनमा पार्दै लगेको संकटका बारेमा वर्ष पुस्तकमा यथेष्ट चर्चा गरिएको छ । “स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक मौलिक हक हो, जीवनसँग सम्बन्धित स्वच्छ, स्वस्थ र दिगो वातावरण मानव अधिकारको विशिष्ट मान्यता हो ।” उहाँले भन्नुभयोे “वातावरणीय विनाश गम्भीर मानव अधिकारको सवाल भएकोले मानव अधिकार अभियान प्रभावकारी पार्न वातावरणमैत्री विकास र प्रकृतिको संरक्षण आवश्यक छ ।”

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख विरबहादुर बुढा मगरले मानव अधिकार हननका घटनासँगै वातावरणीय पक्षलाई पनि इन्सेकले उठान गर्नु सरहानिय कार्य भएको बताउनु भयो । उहाँले वातावरण विनाश र जलवायु परिवर्तनबाट जोखिममा परेका र सीमाङ्कृत समुदाय बढी प्रभावित हुने गरेको बताउनु भयो । उहाँले लोकतन्त्र र मानव अधिकार एक अर्काका परिपुरक भएको धारणा राख्नु भयो । पछिल्ला वर्षहरूमा नेपालमा नागरिक तथा राजनीतिक अधिकारको अवस्था सुधार हुँदै गएको भए पनि महिला र बालबालिका माथि हुने हिंसाका घटना बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । मगरले मानव अधिकार हननका घटनामा पीडित भएकाहरूको न्यायका लागि सबै अधिकारकर्मी संघ संस्थाहरूले मिलेर काम गर्न आबश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव अरविन्द मेहताले कोशी प्रदेशमा पत्रकारलगायत मानब अधिकार रक्षकहरूसमेत पीडित बन्नु परेको अवस्थाबारे सरकार र मानव अधिकार आयोगको ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो । अधिकारकर्मी बासु अधिकारीले कोशी प्रदेशमा यौन हिंसा र दुव्र्यवहारका घटनाबाट बालिकाहरू पीडित भइरहेको देखिएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु आबश्यक रहेको धारणा राख्नु भयो । यौन दुव्र्यबहारका घटनाबाट बालिका मात्रै नभई बालकसमेत पीडित हुने गरेको उहाँको भनाई छ । मानब अधिकारकर्मी मञ्जीता उपाध्यायले मानव अधिकार रक्षकमाथि हुने हिंसाका विषयमा मानव अधिकार आयोगको ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा अधिकारकर्मी त्रिलोक न्यौपानेले इन्सेकले बर्ष पुस्तक मात्रै नभई मानव अधिकार हननका घटनाको विगत र वर्तमानबारे तुलना गरेर छुट्टै पुस्तक पनि प्रकाशन गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले कोशी प्रदेशका १४ जिल्लामा अभिलेख गरिएको तथ्याँक विश्लेषण गर्दा गत वर्ष भन्दा यस वर्ष अवस्था झन् खराब देखिएको बताउनु भयो । उहाँका अनुसार शारीरिक हिंसाका घटना सम्बन्धी सूचाकाङ्कका आधारमा यस वर्ष कोशी प्रदेश चौथो स्थानमा रहेको छ । यस्तै २०२३ को तुलनामा २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट मानव अधिकार हनन र ज्यादतीका घटनामा बृद्धि भएको देखिएको छ । सन् २०२३ मा अन्य पक्षबाट महिला अधिकारका घटनामा ९ सय २६ जना र बाल अधिकारका घटनामा ३ सय ३६ जना पीडित भएकोमा सन् २०२४ मा महिला अधिकार हननका घटनामा १ हजार १ सय ४० र बाल अधिकार हननका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । यस वर्ष कोशी प्रदेशमा बलात्कारका घटनामा १ सय ७६ जना, बलात्कार पछि हत्याका घटनामा २० जना र घरेलु हिंसाका घटनामा ८ सय ८३ जना र परिवारजनबाट हत्याका घटनामा ३४ जना पीडित भएका छन् ।

इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेरेलको अध्यक्षतामा भएको कार्यक्रममा ओरेकका शोभा बजगाई, नेपाल टेलिभिजनका मोहन मानन्धर, अधिवक्ता कोषराज न्यौपाने, विश्लेषक दिनेश श्रेष्ठ, देबी बास्कोटा, पत्रकारहरु बाबुराम भण्डारी, देवनारायण साहलगायतकाले सुझाव र जिज्ञासा राख्नु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५
पत्रकार भेटघाट कार्यक्रम
सन् २०२४ मा कोशी प्रदेशको मानव अधिकार अवस्था

“मानव अधिकार र सामाजिक न्यायका निम्ति” क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत नेपालको मानव अधिकारको अवस्था सार्वजनिक गर्दै आएको छ । राज्य पक्ष र अन्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समावेश गरी इन्सेकले हरेक वर्ष फागुन ७ अर्थात् आजैका दिन नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको कुरा यहाँ राख्न पाउँदा हामीलाई खुशी लागेको छ ।

आज इन्सेकले काठमाण्डौँसहित देशभरका ६ ओटा प्रदेश कार्यालयमार्फत सन् २०२४ को नेपालको मानव अधिकार अवस्था समेटिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को विमोचन तथा सार्वजनिकीकरण कार्यक्रम गरिरहेको छ ।

सोही सन्दर्भमा हामी सन् २०२४ मा कोशी प्रदेशको मानव अधिकारको अवस्था र तथ्याङ्क सार्वजनिकीकरणसहित वातावरणीय सवालका विषयमा छलफल गर्न गइरहेका छौँ । इन्सेक कोशी प्रदेश मातहतका १४ जना जिल्ला प्रतिनिधिहरूले सन् २०२४ अर्थात् ०८० पुस १६ गतेदेखि ०८१ पुस १६ गतेसम्म अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई विश्लेषण गर्दा कोशी प्रदेशमा गएको वर्षभन्दा यस वर्ष मानव अधिकारको अवस्था झन् खराब देखिएको छ ।

सातओटै प्रदेशहरूमा शारीरिक हिंसाका घटनाहरूसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा यस वर्ष कोशी प्रदेश ३६ दशमलव १८ प्रतिशत सूचकाङ्क मूल्यसहित चौथो स्थानमा छ । कोशी प्रदेश भन्दा बागमती, मधेश, लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ । कर्णाली र गण्डकीको भन्दा सुदुर पश्चिमको मानव अधिकारको अवस्था राम्रो देखिएको छ । सात प्रदेशमा सबैभन्दा राम्रो अवस्था सुदुर पश्चिमको र सबैभन्दा खराब अवस्था बागमती प्रदेशको छ । इन्सेकले ५३ ओटा सूचकमार्फत गरेको विश्लेषणका आधारमा सन २०२३ मा ३३ दशमलव ३२ प्रतिशत मानव अधिकार उल्लङ्घन सूचकाङ्क रहेकोमा सन २०२४ को कोशी प्रदेशको मानव अधिकारको अवस्था खराव देखिन्छ ।

सन् २०२३ मा राज्य पक्षबाट र अन्य पक्षबाट १ हजार ४ सय २५ जना पीडित भएकोमा यस वर्ष १ हजार ६ सय ९४ जना पीडित भएको तथ्याङ्कले देखाएको छ । गएको वर्ष भन्दा यस वर्ष २ सय ६९ जना बढी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।

गएको वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा राज्य पक्षबाट मानव अधिकारको अवस्थामा केही सुधार आएको तथ्याङ्कले देखाएको छ । सन् २०२३ मा राज्य पक्षबाट १ सय १६ जना पीडित भएकोमा यस वर्ष ४१ जना पीडित भएका छन् । यस वर्ष कोशी प्रदेशमा राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको छ । राज्यको सुरक्षामा रहेकाहरूको शंङ्कास्पद मृत्युले जीवनको अधिकारमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । इन्सेक अभिलेखका आधारमा सन् २०२४ मा हिरासतमा मृत्यु एक जना र कारागारमा पाँच जनाको मृत्यु भएको छ । गएको वर्षसमेत राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको थियो ।

यस वर्ष कोशी प्रदेशमा राज्य पक्षबाट गिरफ्तारीका घटनामा दुई जना, कुटपिटका घटनामा चार जना, कुटपिटबाट घाइते एक जना, गोली प्रहारबाट घाइते तीन जना, धारिलो हतियार प्रहारबाट ११ जना, झडपमा प्रहरीको लाठी प्रहारबाट ६ जना घाइते भएका छन् । यस वर्ष भेला हुन पाउने अधिकारबाट चार जना वञ्चित भएका छन् ।

सन् २०२३ को तुलनामा यस वर्ष कोशी प्रदेशमा अन्य पक्षबाट मानव अधिकार ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सन् २०२३ मा अन्य पक्षबाट महिला अधिकारका घटनामा ९ सय २६ जना र बाल अधिकारका घटनामा ३ सय ३६ जना पीडित भएकामा सन् २०२४ मा महिला अधिकारका घटनामा १ हजार १ सय ४० जना र बाल अधिकारका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । यस वर्ष कोशी प्रदेशमा बलात्कारका घटनामा १ सय ७६ जना, बलात्कारपछि हत्याका घटनामा दुई जना, बलात्कार प्रयासका घटनामा २० जना, कथित बोक्सी आरोप घटनामा दुई जना, दाइजोजनित हिंसाका घटनामा दुई जना, सामूहिक बलात्कार घटनामा एक जना, अत्याचारका घटनामा १४ जना, वैवाहिक बलात्कारका घटनामा तीन जना, वेचविखनका घटनामा दुई जना, यौनजन्य साइवर क्राइमको घटनामा एक जना, घरेलु हिंसाका घटनामा ८ सय ८३ जना र परिवारजनबाट हत्याका घटनामा ३४ जना महिला गरी १ हजार १ सय ४० जना महिला पीडित भएका छन् । ओखलढुङ्गामा तीन, भोजपुरमा एक, इलाममा तीन, झापामा पाँच, सोलुखुम्बुमा एक, पाँचथरमा दुई, सङखुवासभामा एक, मोरङमा चार, सुनसरीमा तीन, ताप्लेजुङमा एक, तेहृ्रथुममा तीन र उदयपुरमा सात गरी ३४ जना महिलाको हत्या भएको छ ।

सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट भएका बाल अधिकारविरूद्धका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । जसमा बलात्कारका घटनामा २ सय २५ जना, सामूहिक बलात्कारका घटनामा तीन जना, यौन दुव्र्यवहारका घटनामा ९४ जना, बाल विवाहका घटनामा तीन जना, वेचविखनका घटनामा पाँच जना, शिक्षण संस्थामा दिइएको शारिरीक सजायका घटनामा चार जना, नवजात शिशु हत्यामा ६ जना, अत्याचारका घटनामा १२ जना गरी ३ सय ५२ जना पीडित भएका छन् ।

सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट मोसो दलेका घटनामा तीन जना, कुटपिटबाट घाइते घटनामा ६ जना, गोली प्रहारबाट घाइते घटनामा दुई जना, बम विष्फोटबाट घाइते घटनामा दुई जना, धारिलो हतियार प्रहारबाट घाइते घटनामा १७ जना र झडपमा ३३ जना घाइते भएको इन्सेकले अभिलेख गरेको छ । यस वर्ष अन्य पक्षबाट ३१ जनाको कुटपिट गरी हत्या, बम विष्फोटमा दुई जनाको मृत्यु, सेवन गर्न दिइएको विषबाट दुई जनाको मत्यु, धारिलो हतियार प्रहारबाट ३४ जनाको मृत्यु भएको छ । धम्कीका घटनामा ६ जना र जातीय विभेदका घटनामा सात जना पीडित भएको इन्सेकले सन् २०२४ मा अभिलेखीकरण गरेको छ ।

कोशी प्रदेशमा रहेका जिल्ला कारागारको क्षमता ३ हजार १ सय ८४ रहेकोमा ६ हजार १ सय ७५ जनालाई राखिएको छ । यो वर्ष बालसुधार गृह विराटनगरमा २ सय ४४ जना बालकलाई राखिएको छ ।

सन् २०२४ देखि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमा जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण, मानव अधिकार र वातावरणको अधिकारलाई वर्ष पुस्तकमार्फत उठान गरेको छ । संविधानले प्रदान गरेको स्वच्छ वातावरणको हकसहित विश्वव्यापी रूपमा गम्भीर सङ्कटका रूपमा देखा परेको जलवायु परिर्वतनको असर र यसले मानव अधिकारमा पर्ने प्रभावलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ ले उजागर गरेको छ ।

यस वर्ष वायु प्रदुषण, पानीेको मुहान सुक्नु, बाढी पहिरोलगायत प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा १८ हजार ५ सय ३२ जनाले बसाइँसराइ गरेका छन् । कोशी प्रदेशमा भएका १ सय २६ ओटा इँटाभट्टा र १३ ओटा सिमेन्ट उधोगका कारण वायु प्रदुषण भएको छ । प्रदेशभरी २ सय ४० ओटा सार्वजनिक शौचालय मात्र रहेको देखिन्छ भने ६७ प्रतिशत जनतामा मात्र पिउने पानीको पहुँच पुगेको देखिन्छ । कोशी प्रदेशमा सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगका कारण भएको पर्यावरण प्रदूषणलाई इन्सेकले यस वर्ष कोशी प्रदेशको वातावरणको सवालका रूपमा आलेखमार्फत उठान गरेको छ ।

अन्त्यमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसँगै जलवायु परिर्वतनको विषयलाई अधिकारकर्मीले अब साझा मुद्दाको रूपमा लिएर अघि बढ्न आवश्यक छ । मानव अधिकारमैत्री समाज निर्माणका लागि राज्यको प्रयासलाई हामी सबैको साथ र सहयोग आवश्यक छ ।

मनोहर पोखरेल
संयोजक
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर
०८१ फागुन  ७ गते

Source: https://jajnews.com/?p=14727