नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक
सहिखबर डटकम । २०७८ फागुन ८ गते
मकवानपुर । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२, सार्वजनिक गरिएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ सार्वजनिकीकरण तथा सन् २०२१ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । उच्च अदालत पाटन हेटौँडा इजालसका न्यायाधीश माननीय मेरिना श्रेष्ठले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ को सार्वजनिकण गरेकी हुन् । सार्वजनिक पुस्तकमा सन् २०२१ मा बागमती प्रदेशमा १ हजार १ सय ८३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश माननीय मेरिना श्रेष्ठले मानव अधिकारको अभिलेखिकरणमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताईन् । ‘मानव अधिकारको सम्बर्धन र संरक्षणमा राज्यको दायित्व भएकोले त्यसबाट राज्य अलग रहन सक्दैन’ श्रेष्ठले भनिन्– ‘ वर्ष पुस्तकको ३० औँ संस्करणमा आइपुग्दा इन्सेकले तथ्याङ्कको अभिलेखिकरणसँगै सङ्घीय संरचनाका ३ तहको सरकारले गरेको कामको समीक्षा पनि पुस्तकमा समेटिएको छ।’
न्यायाधीश श्रेष्ठले इन्सेकलले अभिलेख गरेको घटनाका पछाडि हुने कारणको खोजीबाट समस्यको पहिचान गर्न सकिने र त्यसको न्युनीकरणका लागि समेत तीनै तहका सरकारलाई सहयोग पुग्ने बताईन् । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले राज्यलाई जवाफदेही बनाउन र नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्नकालागि सरकारले मानव अधिकारको क्षेत्रमा प्रत्येक वर्ष गरेको कामको मूल्याङ्कन गर्न नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक हुने गरेको बताए । वर्ष २०२१ मा कोभिड महामारीका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सबै घटनाहरू कानुनी प्रक्रियासम्म नआइपुगेको देखिएको गाैतमले जानकारी दिए। गाैतमले भने ‘कोभिडका कारण घटनाहरूको अनुगमन तथा प्रलेख गर्ने कार्यमा समेत बाधा पुगेकोले घटनाहरूको सङ्ख्यामा कमी देखिएको हाे।’ इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले सन् २०२१ मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजा १ सय ८३ जना पीडित भएको बताए । इन्सेक जिल्ला प्रतिनिधिहरूमार्फत सङ्कलित अभिलेख अनुसार वर्ष २०२१ मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ८ सय ४२ जना महिला, ४८ जना पुरुष गरी ८ सय ९० जना पीडित भएका छन् । यो सङ्ख्या गत वर्षभन्दा ८१ जनाले बढी हो ।
राज्य पक्षबाट हिरासतमा १ जनाको मृत्यु भएको, गिरफ्तारीका घटनामा १० जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३४ जना महिला र १ सय ८१ जना पुरुष गरी जम्मा २ सय १५ जना पीडित भएको इन्सेकमा अभिलेख रहेको भण्डारीले बताए । यस्तै वर्ष २०२१ मा महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्यवहार घटनामा प्रदेशमा ३ सय ८९ जना पीडित भएको इन्सेक वर्ष पुस्तकमा अभिलेख गरिएको छ । यस वर्ष बेचबिखनका प्रयासका घटनामा ७ जना, घरेलु हिंसाका घटनामा ३२ जना, कथित बोक्सीको आरोपमा ५ जना, बलात्कारका घटनामा १ सय ८७ जना, बलात्कार प्रयासका घटनामा ३२ जना, यौन दुर्व्यवहारको घटनामा २६ जना र बेचबिखनका घटनामा ७ जना महिला पीडित भएको अभिलेखमा छ । यसैगरी बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय २४ जना पीडित भएका छन् । जसमध्ये बलात्कारका घटनामा ३ सय ३, यौन दुर्व्यवहारको घटनामा ३ जना बालक सहित १ सय ७ जना, बालबिवाहका ५ र विद्यालयमा शारीरिक सजाय दिइएका १ घटनामा बालबालिका पीडित भएको इन्सेकको वर्ष पुस्तकमा राखिएको उल्लेख गरिएकाे छ । अघिल्लो वर्ष सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका थिए । कार्यक्रममा बागमती प्रदेशबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन र पीडितको न्यायका लागि बागमती प्रदेशबाट उत्कृष्ट प्रतिनिधिमा छनौट भएका सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई नगद ७ हजार रुपैयाँ सहित सम्पान पत्र र इन्सेकको लोगोसहितको प्रतिक चिह्नद्वारा सम्मान तथा पुरस्कृत गरिएको थियो । सन् १९९२ देखि इन्सेकले हरेक वर्ष प्रजातन्त्र दिवसको दिन नेपाल मानव अधिकार वर्ष पुस्तकको इन्सेक केन्द्रीय कार्यालयले कार्यक्रममार्फत बिमोचन गर्दै आएको छ । प्रदेश स्थापना भएसँगै सातै प्रदेशमा समेत सार्वजनिक गर्दै आएको छ ।