न्याय र पुनर्स्थापनाका लागि मानव अधिकार सहायता कक्षले समन्वय गर्नुपर्छ : सूर्य विश्वकर्मा

धनगढी खबर डटकम । २०८१ वैशाख ७ गते

धनगढी । पीडितलाई न्याय र पुनर्स्थापनाका लागि मानव अधिकार सहायता कक्षले समन्वय गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल कार्यक्रम सहभागीले यस्तो बताएका हुन् ।  डिसिए परियोजनाका कार्यक्रम प्रबन्धक सूर्यकुमारी विश्वकर्माले जोखिममा परेका मानव अधिकार रक्षकहरूलाई सहयोग गर्न मानव अधिकार सहायता कक्षमा निर्णय गर्न सकिने बताइन । ‘वास्तविक पीडितलाई न्याय मात्र नभई पीडितको सुरक्षा र पुनर्स्थापनाका लागि पनि मानव अधिकार सहायता कक्षले समन्वय गरेर जानु पर्छ’ उनले भनिन् – यसका लागि संघ संस्थाहरूसँग समन्वय गर्न सकिन्छ ।’ उनले दूरदराजमा रहेका पीडितहरूको न्यायमा सहजताका लागि सुरक्षित आवासका लागि  सेफ हाउस सञ्चालन गरिरहेको संघ संस्थाहरूसँग समन्वय गर्न सकिने बताइन् । राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत गणेश जोशीले जोखिममा परेका मानव अधिकार रक्षकहरूले मानव अधिकार सहायता कक्षमा उजुरी दिन आग्रह  गरे । उनले मानव अधिकार सहायता कक्ष मार्फत काम गर्ने दौरानमा विभिन्न जोखिममा परेका मानव अधिकार रक्षकहरूलाई सहयोग गर्न सकिने र मानव अधिकार रक्षकहरूको अभिलेखीकरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले जिम्मा लिनु पर्ने बताए । दलित महिला अधिकार मंचकी अध्यक्ष सावित्रा घिमिरेले समुदायसंग जोडिएर काम गरिरहेका स्वयंसेविका, शिक्षक, मेलमिलाप कर्ताहरूलाई पनि उनीहरूको जोखिमको पहिचान गर्नुपर्ने बताइन् । उनले मानव अधिकार सहायता कक्ष मार्फत सहयोग गर्न सकिने वातावरण सृजना गर्न निर्देशिका परिमार्जन गर्नुपनमा जोड दिइन् । 

गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा मानव अधिकार सहायता कक्ष व्यवस्थापनका अध्यक्ष देवी खनालले मानव अधिकार सहायता कक्ष मार्फत पीडितलाई सहयोग गरेको फाइल अनुमोदन गर्नु पर्ने बताए ।  यस सञ्जालका सदस्यहरुलाई सूचना सम्प्रेषण गर्न डिजिटल ग्रुप बनाउनु पर्ने र हाल सम्म मानव अधिकार सहायता कक्ष मार्फत सहयोग पाएका पीडितहरूको अवस्थाबारे जानकारी लिन र अभिलेखीकरण गर्नु पर्ने बताए । पत्रकार महांसंघका पूर्व अध्यक्ष अर्जुन शाहीले मानव अधिकार सहायता कक्षलाई प्रभावकारी सूचनामय बनाउन डिजिटल समूह बनाएर सूचना सम्प्रेषण गर्न आवश्यक रहेको बताए । समय अवधि भित्र खर्च हुन नसेका रकम आपतकालिन कोष वा कुनै कोषमा जम्मा हुने गरी निर्देशिका बनाउनु पर्ने आरेक नेपालका कार्यक्रम संयोजक गीता चौधरीले बताइन् । उनले मानव अधिकारको क्षेत्रमा काम गर्दा दुर्घटनामा परेका मानव अधिकार रक्षकहरूको उपचारमा सहयोग गर्न सके यो सहायता  कक्ष अझ प्रभावकारी हुने बताइन् । सिविन नेपालको प्रमुख हरीलाल चौधरीले पीडितलाई न्याय लागि मात्र नभई दूर दराजमा रहेका पीडितको उद्धारको लागि यातायातको व्यवस्था भए मानव अधिकार सहायता कक्ष पीडित मैत्री हुने बताए । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्ष मार्फत विभिन्न हिंसा प्रभावितलाई न्यायमा पहुँच पु¥याउने उद्देश्यले पीडितलाई छनौट गरी सहयोग गर्दै आइरहेको बताए । उनले कानुनी प्रक्रियामा  गएका र सम्बन्धित वडाको सिफारिस तथा पीडितको निवेदन र अन्य कागजातको आधारमा सहयोग गर्दै आइरहेको बताए । 

Source: न्याय र पुनर्स्थापनाका लागि मानव अधिकार सहायता कक्षले समन्वय गर्नुपर्छ : सूर्य विश्वकर्मा – Dhangadhi Khabar

Source: मानवअधिकारके अनुभूति नैहुइल – निसराउ खबर (nisaraukhabar.com)

Source: ईन्सेकद्वारा मानव अधिकार सहायता कक्ष सबलीकरण सम्बन्धी छलफल – e-Khabar Raftar News Portal (ekhabarraftar.com)

Source: Pahura Daily | मानव अधिकार रक्षक सहायता कक्ष रकम फ्रिज नइहुइना मेरिक बनैनामे जोड – Pahura Daily