पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको साधारणसभा सम्पन्न
लर्निस खबर डटकम । २०८१ असोज १५ गते
नेपालगञ्ज १५ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८ औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै असोज १५ गते काठमाडौँमा सम्पन्न भएको छ ।
साधारणसभाले गत असोज ११, १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको मानवीय तथा भौतिक क्षतिका घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘विपतमा परेका नागरिकको उद्धार तथा पुर्नस्थापनाका लागि क्रियाशील हुन तथा भविष्यमा हुनसक्ने यस्ता विपतको पूर्वतयारीको आवश्यक प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछ । जलवायु परिवर्तन, वातावरणीय समस्याका कारण हुने क्षति विरुद्ध रणनीति बनाउन सभा माग गर्दछ ।’-घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी साधारणसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा, भदौ ६ गते राष्ट्रिय सभा र भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै १८ वर्ष अघिदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायको विषय अगाडि बढ्ने अपेक्षा गरेको छ ।
साधारणसभाले इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता बरालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको अध्यक्ष डा. कुन्दन अर्यालले बताए ।
Source: https://shorturl.at/lJxl0