पाँच वर्षदेखि स्वास्थ्यकर्मीविहीन सुर्खेत कारागार

कान्तिपुर प्रदेश डटकम । २०८१ साउन २४ गते

वीरेन्द्रगर — सुर्खेत कारागार विगत ५ वर्षदेखि स्वास्थ्यकर्मीविहीन छ । खटाएका स्वास्थ्यकर्मी यहाँ आएनन् भने दरबन्दीमा काम गरिरहेका कर्मचारी स्थानीय तहमा समायोजन भएर गएपछि कारागार ५ वर्षदेखि स्वास्थ्यकर्मीविहीन बनेको हो ।

स्वास्थ्य मन्त्रालय अर्न्तगत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत सिनियर अहेब अधिकृत छैटौंस्तरका रामेश्वर चौधरीलाई सुर्खेत कारागारमा खटाइएको थियो । तर उनी अहिलेसम्म हाजिर हुन आएका छैनन् ।

खटाएका स्वास्थ्यकर्मी हाजिर हुन नआएपछि कारागारमा कैदीबन्दीलाई उपचारको लागि प्रदेश अस्पताल लैजानपर्ने बाध्यता छ । कारागारमा स्वास्थ्यकर्मी नभएपछि सामान्य रुघाखोकी लागेका र प्रेसरका बिरामीहरुलाई पनि प्रदेश अस्पताल लिनुपर्ने अवस्था रहेको कारागारका सूचना अधिकारी भूवन गौतमले बताए ।

कारागारमा स्वास्थ्यकर्मी नभएको कुरा कारागार व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग र गृह मन्त्रालयलाई समेत जानकारी गराइसकेको भएपनि अहिलेसम्म स्वास्थ्यकर्मी हाजिर हुन नआएका कारागार प्रशासनलले जनाएको छ ।

कारागारमा ५/५ वर्षबाट स्वास्थ्यकर्मी नहुनु सरकारको गम्भीर लापरबाही भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदी बताउँछन् । ‘कारागारमा भएका कैदीबन्दीको पनि मानव अधिकार हुन्छ,’ उनले भने , ‘सरकारले व्यवस्था गर्नैपर्ने आधारभूत स्वास्थ्य सेवा समेत कारागारमा नहुनु कैदीबन्दीको स्वास्थ्यको सवाल हो । यो मानव अधिकारविरुद्धको कदम हो ।’

लामो समयदेखि कारागारमा स्वास्थ्यकर्मी छैनन् । जसका कारण कैदीबन्दीले समयमै र सामान्य स्वास्थ्य उपचार समेत पाउन सकेका छैनन् । कारागारमा रहेका जेष्ठ नागरिक र विभिन्न रोगका बिरामीको नियमित प्रेसर चेक गर्नुपर्ने हुन्छ । तर त्यही प्रेसर जाँच गर्ने सुविधा समेत कारागारमा छैन ।

कारागारमा खटाइएका स्वास्थ्यकर्मी आउन पर्ने माग जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । प्रशासनको पहल र प्रयास जारी रहेको उनले बताए । तर अहिलेसम्म खटाएको कर्मचारी किन आएनन् भन्ने विषयमा भने प्रशासन पनि अनविज्ञ छ । कानुन न्याय तथा मानवअधिकार समितिका पदाधिकारीहरु आएको बेला पनि यो कुरा उठेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

‘हामीले पनि कुरा राखेका थियौं,’ उनले भने , ‘प्रशासन र कारागार प्रशासनबाट पनि माथिल्लो निकायलाई खबर गरेका छौं । तर अहिलेसम्म स्वास्थ्यकर्मी आउनुभएको छैन । ’ सुर्खेत जिल्ला कारागारमा बुधबारसम्म विभिन्न मुद्दाका ४०० पुरुष र ४० जना महिला कैदीबन्दी रहेका छन् । १ सय जनाको क्षमता रहेको कारागारमा ४ सय बढी कैदीबन्दी छन् ।

Source: https://ekantipur.com/pradesh-6/2024/08/08/surkhet-jail-without-medical-personnel-for-five-years-49-46.html