पीडित परिवारलाई क्षतिपूतिको माग गर्दै इन्सेक खोटाङद्वारा ज्ञापनपत्र

खोटाङ । २०८१ मङ्सिर ७ गते

पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ज्ञापन पत्र बुझाएको छ । इन्सेक खोटाङले बिहीवार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

अन्तर्राष्ट्रिय महासन्धि र संवैधानिक व्यवस्थाका वावजुद सरकारले गरेको प्रतिबद्धता र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन नहुँदा दोषीमाथि कारवाही र पीडित परिवारले क्षतिपूर्ति पाउन नसकेको भन्दै इन्सेक खोटाङ जिल्ला प्रतिनिधि तारानाथ फुयलले प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका हुन् ।

२०७० जेठ २८ गते गिरफ्तारीमा परी प्रहरी यातनाकै कारण २०७० असार २६ गते ज्यान गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका खोटाङका १८ वर्षीय भुदेउ भनिने किरण राईको ज्यान गएको थियो ।

प्रहरी हिरासतमा रहेको अवस्थामा प्रहरी यातनाबाट राईको मृत्यु भएको पुष्टि गर्दै राष्ट्रिय मानव अधिकार आयोगले यातना दिने कार्यमा संलग्न प्रहरीलाई मुलुकी ऐन ज्यानसम्वन्धी महलबमोजिम कारबाही गर्न तथा मृतक परिवारलाई तीन लाख रुपियाँ क्षतीपूर्ति उपलव्ध गराउन २०७० भदौ १९ गते सरकारसमक्ष सिफारिस गरेको थियो ।

राज्यको सुरक्षा निकायबाट यातना दिनु र संवैधानिक आयोगको सिफारिश कार्यान्वयन नहुनुले गम्भीर बनाएको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्रीले क्षतिपूर्तिको प्रक्रिया छिटो ढङ्गले अघि बढाउन सबैले पहल गर्नुपर्ने बताए । ज्ञापनपत्र बुझाउने क्रममा पत्रकार, अधिकारकर्मी र जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Source: https://shorturl.at/3z9LJ