पोखरामा ‘जातिय विभेद विरुद्धको प्रदेश सम्मेलन’ सुरु

सिटीनेट टिभी डटकम । २०८१ माघ १३ गते

पोखरा । जातिय विभेद विरूद्ध हामी सबैको ऐक्यबद्धता भन्ने नारासहित आजदेखि पोखरामा जातिय विभेद विरुद्धको प्रदेश सम्मेलन सुरु भएको छ । मुख्य मन्त्री तथा मन्त्री परिषद्‌को कार्यालय गण्डकी प्रदेश र इन्सेक गण्डकी प्रदेशको संयुक्त आयोजना तथा अन्य संघसंथाहरुको सहआयोजनामा सुरु भएको सम्मेलनको  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । 

सम्मेलनमा गण्डकी प्रदेशका प्रदेश सांसदहरु, जातीय विभेद विरुद्ध क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, मानवअधिकारकर्मीहरुको सहभागीता रहेको ईन्सेक गण्डकीका प्रमुख शिव खकुरेलले जानकारी दिए । सम्मेलनबाट गण्डकी प्रदेशमा जातीय विभेदविरुद्ध सचेतना जगाउन सहयोग पुग्ने प्रमुख खकुरेलले अपेक्षा व्यक्त गरे । उनले जातीय विभेद विरुद्धका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको कार्यन्वय गर्नका लागी जिम्मेवार निकायलाई दबाबस्वरुप सम्मेलन आयोजना गरिएको बताए ।

हाल प्रदेशसभामा छलफलमा रहेको दलित सशक्तिकरण विधेयक हिउँदे अधिवेशनबाट पारित गर्न ध्यानाकर्षणका लागी समेत सम्मेलनले सहयोग गर्ने प्रमुख खकुरेलले बताए । सम्मेलनको अन्तिम दिन भोली सहभागी सम्पुर्ण संघसंस्थाहरुले संयुक्त घोषणापत्र जारी गर्ने प्रमुख खकुरेलले बताए ।

Source: https://cityonetv.com/archives/10783