पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग

सफल आवाज डटकम । २०७९ चैत २३ गते

पोखरा, २३ चैत्र । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग गरिएको छ । अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा बहिरंग मात्र रहेकाले उक्त सेवा लिन जाने सेवाग्राहिहरुलाई भर्ना गरेर राख्नु परेमा त्यो सुबिधा नभएको हुदाँ उक्त सुबिधा थप गर्न माग गरिएको हो ।

बिहिवार पोखरामा रहेका बिभिन्न अधिकारवादी, सामाजिक, संघ-संस्थाको टोलिले संयुक्त रुपमा ज्ञापन पत्र मार्फत अस्पतालका प्रमुख डा. भरत खत्री समक्ष ज्ञापन पत्र पेस गर्याे ।

ज्ञापन पत्र बुझाउनेहरुमा इन्सेक, कोशिस, कोपिला नेपाल, शक्ति समूह, थ्रि एन्जल्स नेपाल, सिविन नेपाल लगाएत रहेका छन् । ज्ञापन पत्रमा अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार ऐन २०७४ खण्ड ७ को दफा ३५ मा मानसिक तथा मनोसमाजिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको उपचारको ब्यवस्था गर्नुपर्ने प्रावाधान रहेको उल्लेख छ । सो अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको अन्तरंग र बहिरंग दुबै सेवालाई प्राथमिकता दिनुपर्ने उनिहरुको माग रहेको छ ।

हाल उक्त सेवा सुबिधा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नहुँदा नीजि अस्पतालहरुमा जानुपर्ने तथा मानव सेवा आश्रम, पुनस्र्थापना केन्द्रमा जान बाध्य रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझदै अस्पतालका प्रमुख डा.भरत खत्रिले मागप्रति सकारात्मक रहेको बताउदै हाल दिइरहेको सेवा सुबिधालाई थप प्राथामिकता दिदै ब्यवस्थित गर्ने बताए । उनले अस्पतालमा छुट्टै भवन नै बनाएर सेवा प्रदान गर्न लागिएको बताउदै हाल बजेट अभावमा सो प्रक्रिया नै अगाडि बढ्न नपाएको सुनाए ।

Source: https://safalawaj.com/2023/04/06/120131/