प्रदेशस्तरीय ‘फ्रि मिडिया नेटवर्क’ गठन

द नेपलिज डटकम । २०८१ चैत २४ गते

विराटनगर– नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खडकाको नेतृत्वमा प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्ष दिपक आचार्य र महासंघको कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थितिमा आयोजित भेलाले आइतबार नेटवर्क गठन गरेको हो । 

नेटवर्कको सदस्य सचिवमा पत्रकार महासंघ कोशीका महासचिव हिमा चेम्जोङ, सदस्यहरुमा नेपाल नगरपालिका संघ, नेपाल गाउपालिका संघ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग कोशी, प्रदेश योजना आयोग, प्रदेश प्रहरी कार्यालय, प्रदेश गैर सरकारी महासंघ, इन्सेक कोशी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी र उच्च अदालत विराटनगर वार इकाइ रहेको छ । 

नेटवर्कले पत्रकार र पत्रकारिता क्षेत्रलाई जवाफदेहिता, जनउत्तरदायित्व र समाजका इमानदार पहरेदारको भूमिका निर्वाहका लागि निगरानी तथा सहजीकरण गर्ने महास.घका कार्यवाहक अध्यक्ष आचार्यले बताए । उनले पत्रकार र पत्रकारिता क्षेत्र तथा अभिव्यक्ति स्वतन्त्रता, मिडिया हाउसमाथि आउने जस्तोसुकै समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले नेटवर्क गठन गरिएको बताएका हुन् । 

यूरोपियन यूनियनको सहयोग र इन्टरनेशनल अलर्टको प्राविधिक सहयोगमा सञ्चालित लोकतन्त्रको सुदृढीकरणः नागरिक संलग्नता, नागरिक आवाज र जवाफदेहिता परियोजना अन्तर्गत कोशी प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो ।

Source: https://thenepalese.com/news/758714-250406183234/detail