प्रदेश स्तरीय मानव अधिकार समूह गठन
समता खबर डटकम । २०८२ असार २० गते
मोरङ । कोशी प्रदेशमा मानव अधिकारको रक्षा तथा पैरवी गर्ने उद्देश्यसहित असार २० गते प्रदेश स्तरीय मानव अधिकार समूह गठन भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयमा भएको भेलाले किरण लाल सिंह गनगाई (मोरङ) अध्यक्ष र शिवशंकर मेहता (सुनसरी) उपाध्यक्ष रहेको सात सदस्यीय प्रदेशस्तरीय मानव अधिकार समूह गठन गरेको हो ।
समुहको सचिवमा जहाँगीर आलम, सहसचिवमा असन राई, कोषाध्यक्षमा मञ्जु मेहता तथा सदस्यहरूमा दिपक चौधरी र सुशिला दाहाल रहनु भएको छ । समूहको सल्लाहकारमा देवराज राजवंशी चयन हुनु भएको छ ।
समूह गठनमा सहजिकरण गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले नवगठित समूहका पदाधिकारी तथा सदस्यलाई शुभकामना दिनुभयो । शिक्षा, स्वास्थ र वातावरणको अधिकार तथा विभेदका विरुद्धका सवालमा जिम्मेवार निकायलाई जवाफदेही बनाउनेतर्फ लाग्न समूहलाई उहाँले आग्रह गर्नुभयो ।
संयोजक पोखरेलले समय क्रमसँगै परिर्वतन हुँदै जाने मानव अधिकारका सवालमा काम गर्न मानव अधिकार रक्षकहरुको भूमिकाको निरन्तरता अपरिहार्य रहेको बताउनु भयो । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन मानव अधिकार रक्षकहरु सबल, सचेत र संगठित बन्न जरुरी रहेको बताउनु भयो ।
मानव अधिकार रक्षाको सवालमा सहकार्य गर्न राष्ट्रिय मानव अधिकार आयोग तत्पर रहेको बताउनु हुँदै आयोग कोशी प्रदेशकी मानव अधिकार अधिकृत तुलसा कार्कीले नवगठित समूहका सदस्यहरूलाई मानव अधिकारलाई घरघर पुरयाउन हौसला बढाउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, ओरेक, सिविन, ओसिएमसी, फेडोका प्रतिनिधिहरु र इन्सेक सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।
इन्सेकले मोरङको रतुवामाई र सुवनर्षी नगरपालिका तथा सुनसरीको देवानगञ्ज र बर्जु गाउँपालिकामा शिक्षा, स्वास्थ्य र वातावरणको अधिकार सम्बन्धी परियोजना सञ्चालन गर्दै आइरहेको छ । उक्त पालिकाहरूमा इन्सेकद्वारा गठित पालिका स्तरीय मानव अधिकार समूह र विद्यालय स्तरीय बाल अधिकार सचेतना समुहले मानव अधिकार रक्षाको सवालमा अभियान चलाउँदै आइरहेको इन्सेक कोशी प्रदेश कार्यालयले जनाएको छ ।
Source: https://shorturl.at/bcGLq
Source: https://takuranews.com/news-2/55685/
Source: https://shorturl.at/qIExm
HUMAN RIGHTS NEWS PORTAL






