प्रधानमन्त्रीलाई इन्सेकको ध्यानाकर्षण–पत्र

रुपाकोट डटकम । २०८१ असोज ८ गते

खोटाङ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले जिल्लाका नागरिकले खेपिरहेका समस्याका विषयमा प्रधानमन्त्री केपी ओलीलाई प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की मार्फत असोज ७ गते ध्यानाकर्षण–पत्र बुझाएको छ । जिल्लामा शववाहन अभाव, कारागारमा सवारी साधन अभाव, हिंसापीडित महिला तथा बालबालिकालाई आश्रयस्थल अभाव लगायतका विषयमा ध्यानाकर्षण–पत्र बुझाएको हो ।

जिल्लामा शववाहन नहुदा ट्याक्टर तथा बोक्नु पर्ने अवस्था रहेको, कारागारका कैदी–बन्दीका लागि यातायातका साधन नहुदा उपचारमा जान सकेत समस्या भएको, हिंसापीडित महिला तथा बालबालिकालाई सुरक्षित आश्रयस्थल नहुँदा उद्धारमा समस्या भएको लगायतका विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गरिएको इन्सेक प्रतिनिधि तारानाथ फुयालले बताए ।

आत्महत्या वा भवितव्यमा परी ज्यान गुमाएकाहरूको शव परीक्षणका लागि ट्याक्टर रिजर्भ गरेर अस्पताल ल्याउँदा ५० हजार खर्च गर्नुपर्ने बाध्यता भएकाले शव वाहनको आवश्यकता देखिएको फुयालले जनाए । ‘जिल्लामा शववाहन नहुँदा आर्थिक अवस्था कमजोर भएकाले ऋण काँढ्नु पर्ने वाध्यता छ’ फुयालले भने–‘त्यसैले यथाशीघ्र शववाहनको व्यवस्था गरियोस् भनेर प्रधानमन्त्रीसमक्ष ध्यानाकार्षणपत्र बुझाइएको हो ।’

जिल्ला कारागार खोटाङमा रहेका कैदीबन्दीलाई प्राथमिक तथा आकस्मिक उपचारका लागि स्वास्थ्य संस्था लैजान र ल्याउन वा तारेख, पेशी, बयान लगायतका लागि अदालतमा उपस्थित गराउन कारागारको सवारीसाधन नहुँदा असुरक्षाका साथै उपचारमा समेत ढिलाइ भएकाले ध्यानाकर्षण गराएको फुयालले सुनाए ।

लैङ्गिक हिंसाबाट पीडित महिला तथा बालबालिकाहरू शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक एवम् सामाजिक असर पर्ने गरेको इन्सेकले बुझाएको ध्यानाकार्षणपत्रमा उल्लेख छ । 

विभिन्न मागसहित इन्सेकले बुझाएको ध्यानाकार्षणपत्र असोज ७ गते नै प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पठाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

Source: https://shorturl.at/qFu96