प्रविधिको बढ्दो प्रयोगसंगै व्यक्तिगत गोपनियतामा चुनौती

पोखरा, अनलाइन अन्नपूर्ण डटकम । २०७९ जेठ १६ गते

गोपनियताको हक तथा तथ्यांक संरक्षण सम्बन्धि कानुनी व्यवस्था विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।डिजिटल राइट्स नेपालको आयोजना तथा इन्सेक गण्डकीको समन्वयमा सोमबार पोखरामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता सन्तोष सिग्देलले सहजीकरण गर्दै पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको संख्या बढ्दै गएकाले व्यक्तिगत गोपनियतामा पनि चुनौती थपिँदै गएको बताए ।
नीजि क्षेत्रहरुले व्यक्तिगत विवरण संकलन गरी उनिहरुले त्यसको सदुपयोग वा दुरुपयोग के गरिरहेका छन् भन्ने विषयमा नेपालको कानुन मौन रहेको उनले बताए । उनले डाटा ह्याक गर्ने ह्याकर मात्र नभइ संकलन गर्ने कम्पनीहरुपनि जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
नेपालले गोपनीयताको हकलाई मौलिक हकका रुपमा संविधानको धारा २८ मा सुनिश्चित गरेपनि यसले सबैपक्षलाई समेटन नसकेको सिग्देलले बताए । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले नेपालमा डाटा संरक्षण सम्बन्धि कानुन नभएकाले यस सम्बन्धि आम नागरिकहहरुसंग व्यापक छलफल गरेर सरकारलाई सुझाव दिनुपर्ने बताए ।

कार्यक्रममा अधिवक्ता गीरधारी सुवेदीले डाटा संकलकलाई कसरी जिम्मेवार बनाउने भन्ने विषयमा सामुहिक खाँचोेको आवश्यकता औंल्याए । वरिष्ठ पत्रकार रविन्द बास्तोला, पुण्य पौडेल, जमुना बर्षा शर्मा, अधिवक्ता कुञ्जनी परियार प्यासी र नागरिक अगुवा विष्णुप्रसाद बरालले अभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए । गोपनीयता सम्बन्धि कानुनमा भएका मुख्य समस्या र चुनौती तथा तथ्यांक संरक्षण सम्बन्धमा देखिएका समस्या र अवलम्बन गर्नुपर्ने कानुनी उपायहरुका बारेमा सातवटै प्रदेशमा सरोकारवालाहरुसंग अन्तक्र्रिया गरी सुझावपत्र तयार गर्ने संस्थाको योजना रहेको अध्यक्ष सिग्देलले बताए ।

Source: http://onlineannapurna.com/archives/9150