प्रशासन–अधिकारकर्मी छलफल, ‘कोभिड व्यवस्थापनमा सक्दो पहल र प्रयास भैरहेको छ’

14 October, 2020

 

जिल्लामा कोभिड नियन्त्रण उपचार र त्यसको व्यवस्थापनमा अधिकारकर्मीहरुले प्रश्न उठाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले अधिकारकर्मीहरुसँग छलफल गरेको छ । छलफलमा प्रशासन, स्वास्थ्य कार्यालय र भेरी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुले कोभिडको व्यवस्थापनका लागि सक्दो प्रयास र पहल भैरहेको बताएका थिए । कोरोना संक्रमितको मत्युदर घटाउन प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन, शिघ्र पिसिआर रिर्पोट दिने ब्यवस्था मिलाउन, मापदण्ड अनुसार आईसोलेशन र क्वारेन्टाइन संचालन गर्न तथा खर्चको पारदर्शितामा जोड दिन अधिकारकर्मीहरुले प्रशासनको ध्यानाकर्षण गराएका थिए । मानव अधिकारकर्मीहरुको बैठकले प्रशासनको कोभिडका सम्बन्धमा ध्यानाकर्षण गराएपछि सोमबार भएको छलफलमा पिसिआर रिर्पोट ढिला आउने गरेका कारणले समयमै उपचार पाउन नसक्दा संक्रमित बिरामीको मृत्यु दर बढेकाले पिसिआर रिर्पोट छिटो आउने ब्यवस्था मिलाउन माग गरेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जिल्लामा हाल कोरोनाको अवस्थाबारे जानकारी गराएको कार्यक्रममा सरोकारवालाले सक्दो छिटो पीसीआर रिपोर्ट आउने व्यवस्था मिलाइएको बताएका थिए । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जिल्लामा कोभिड संक्रमितको उपचार, बासका लागि आर्थिक समस्या झेल्नु परिरहेको बताएका थिए । उनले संक्रमितको शव व्यवस्थापनका लागि समस्या भएकोमा रेडक्रसले सोमबार नै सो सम्बन्धी सामाग्री उपलब्ध गराएको जानकारी दिए ।
भेरी अस्पतालमा पिसिआर परिक्षण गराएका मध्ये शुल्क तिरेकाको शिघ्र रिर्पोट आउने र निशुल्क गराएकाहरुको ढिला रिपोर्ट आउने गरेको पाइएको भन्ने अधिकारकर्मीहरुको भनाईमा अस्पतालका प्रतिनिधिले दुवैको रिपोर्ट एकै समयमा आउने गरेको बताएका थिए । ‘क्रमशः रिपोर्ट आउने व्यवस्था मिलाएका छौं’, अस्पतालका प्रतिनिधिले भने ।

आईसोलेशनमा रहेका बिरामीहरुको आवश्यकता, चाहना र रुचि अनुसारको खानाको ब्यवस्था नभई एकैनासको खानाको ब्यवस्था रहेको भन्ने अधिकारकर्मीको जिज्ञासामा प्रशासनले उनीहरुको खानाको व्यवस्थापनमा समस्या भैरहेको स्वीकार गरेको थियो । प्रशासनले बिरामीलाई आवश्यकता अनुसार खाना उपलब्ध गराइरहेको र अझ राम्रो गर्ने बताएको थियो । बैठकमा मानव अधिकार आयोग शाखा कार्यालय नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाई, नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, इन्सेकका भोला महत, इन्सेक, अधिकारकर्मी बसन्त गौतम, फियानका सुरेश कुमार गौतम, अधिवक्ता विश्वजित तिवारी, नमस्कार शाह, प्रभातकुमार ठकुरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भेरी अस्पताल व्यवस्थापन समितिका प्रमुख प्रमोद धिताल, भेरीका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापा लगायतको सहभागिता रहेको थियो ।

Source: http://www.nepalgunjnews.com/main-news/20201048610/?fbclid=IwAR1lUr2ZMbmTdYimTPn_nNPRvtI8IDOG-933dLbkU_4gMNAxn4ZVhRRdf1E