फितलो विपद् पूर्वतयारी र प्रतिकार्यले कर्णालीमा ४ हजारभन्दा बढी नागरिकले छोडे पुर्ख्यौली थलो
शिलापत्र डटकम । २०८१ फागुन ८ गते
राज्यको फितलो विपद्को पूर्वतयारी र प्रतिकार्यले कर्णाली प्रदेशमा जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक प्रकोपका कारण ठूलो संख्यामा नागरिकहरू पुर्ख्यौली थलोबाट विस्थापित हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
बुधबार मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सार्वजनिक ३३औँ नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ मा जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक प्रकोपका कारण कर्णालीमा ४ हजार ४ सय ३७ जना बसाइँ सरेको देखाएको छ । इन्सेकले गत वर्ष कर्णालीमा वातावरणीय अधिकारसम्बन्धी सूचकहरूमा गरेको अध्ययनमा सबैभन्दा बढी बाढीपहिरो, खानेपानीको चरम अभाव र भूकम्पका कारण ठूलो संख्यामा नागरिकहरू बसाइँ सर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको जनाएको छ ।
यो तथ्याङ्क कर्णालीका १० जिल्लाका ७९ वटै पालिकाको हो । पालिकाका पञ्जीकरण शाखाबाट लिइएको तथ्याङ्कको विश्लेषणमार्फत इन्सेकले प्राकृतिक विपद्बाट अन्तरपालिका, अन्तरजिल्ला र अन्तरप्रदेश बसाइँसराइ हुने क्रम बढ्दो रहेको जनाएको छ ।
इन्सेकका अनुसार कर्णालीमा खानेपानीको चरम अभावले बसाइँसराइले प्रश्रय पाइरहेको छ । ‘७९ वटै पालिकामा हामीले बसाइँसराइ हुनुको मुख्य कारण खोजेका थियौँ,’ इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी भन्छन्, ‘ती कारणहरूमध्ये सामान्य बसाइँसराइभन्दा जलवायु परिवर्तनका कारण खानेपानीका मुहान सुक्ने, बाढीपहिरो र भूकम्पका कारण बढी भएको हामीले पाएका छौँ ।’
यस वर्षबाट सुरु भएको मानवअधिकार र वातावरणसम्बन्धी अध्ययनमा कर्णालीभर ५२ प्रतिशत मात्रै खानेपानीको सहज पहुँच रहेको सुवेदीले बताए ।
सुवेदीका अनुसार कर्णालीमा आवश्यकताअनुसार सार्वजनिक शौचालयसमेत छैनन् । गत वर्ष कर्णालीमा वातावरणीय अधिकारसँग सम्बन्धित समस्यामा २६ वटा वायु प्रदूषण र १० जनाको च्याउ खाएर घाइते वा मृत्यु भएको छ भने प्रदेशभर १ सय १ मात्रै सार्वजनिक शौचालय रहेका छन् । विपद्का कारण भएको क्षतिको परिपूरण र पुनर्स्थापनाको मार्गचित्र बनाउन सरकार चुक्दा यसबाट हजारौँ नागरिक विस्थापनको जोखिममा परेको संयोजक सुवेदीको ठहर छ ।
सरकारको पूर्वतयारीको आवश्यकता टड्कारो देखिँदा जलवायु परिवर्तनका कारण भविष्यमा प्राकृतिक विपत्तिका घटनामा बढोत्तरी हुने र यसबाट ठूलो संख्यामा नागरिक प्रभावित हुनेमा दुई मत नरहेको उनले बताए ।
इन्सेकको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा वातावरणीय फेरबदलका कारण सबैभन्दा सुर्खेतमा १ हजार २ सय ४० जना बसाइँ सरेका छन् । त्यसपछि दोस्रोमा दैलेखमा एक हजार जना वातावरणको प्रभावले बसाइँ सरेका छन् । यस्तै, डोल्पामा १५, मुगुमा १ सय १८, हुम्लामा २२, जुम्लामा २ सय ३९, कालीकोटमा २ सय ९३, जाजरकोटमा ५ सय १०, रुकुम पश्चिममा २ सय ८४, सल्यानमा ७ सय १६ जना जलवायु परिवर्तनका कारण सिर्जित बाढीपहिरो, खानेपानीका मुहान सुक्ने तथा भूकम्पजस्ता प्राकृतिक प्रकोपका कारण एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेको इन्सेक कर्णाली संयोजक सुवेदीले बताए ।