‘बन्दाबन्दीको ५४ दिनमा हिंसाबाट ५०२ जना महिला र बालिका पीडित, २३ को परिवारबाटै हत्या’

बुधबार, जेठ ७, २०७७

हिमालखबर

 
'बन्दाबन्दीको ५४ दिनमा हिंसाबाट ५०२ जना महिला र बालिका पीडित, २३ को परिवारबाटै हत्या'

बन्दाबन्दी भएको ५४ दिनमा पाँचसय दुईजना महिला र बालबालिका हिंसाबाट पीडित भएको तथ्यांक सार्वजनिक भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बन्दाबन्दी शुरु भएको ११ चैतदेखि ३ जेठ २०७७ सम्म अभिलेख गरेको प्रतिवेदन आज (बुधबार) सार्वजनिक गर्दै यो जानकारी गराएको हो ।

यो अवधिमा २३ महिलाको हत्या भएको इन्सेकको अभिलेखमा छ । यो सबै हत्या परिवारबाटै भएको पनि प्रतिवेदनमा लेखिएको छ । कुल घटनामध्ये घरेलु हिंसाका घटनाबाट सबैभन्दा बढी २३९ जना पीडित भएका छन्।

सो अवधिमा ६४ जना महिलासहित १६९ जना बलात्कार, २० वटा घटना बलात्कार प्रयासको रहेको छ भने यौन दुर्व्यवहारको घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएका छन् ।

बन्दाबन्दीकै समयमा ५ वटा बालविवाह भएको छ भने १२ वटा बहुविवाह भएको छ । 

प्रदेश अनुसार घटना

सबैभन्दा बढी वागमती प्रदेशमा १५४ र त्यसपछि प्रदेश ५ मा एकसय वटा हिंसाका घटना भएको छ ।

त्यस्तै सुदूरपश्चिममा सबैभन्दा कम २२ वटा हिंसाका घटना भएको छ । प्रदेश २ मा ३१, प्रदेश १ मा ३६, गण्डकी प्रदेशमा ४१ र कर्णाली प्रदेशमा ६३ जना महिला तथा बालबालिका पीडित भएका छन् ।

प्रतिवेदनले भनेको छ, ‘बन्दाबन्दीका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’

Source: https://www.himalkhabar.com/news/114261?fbclid=IwAR1JOLZySMm8_1RYwaITa0xjo1Tj8CbAzQxEl-lcw9bE9uZevwnlnoD9GLc