अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहूँको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम मंगलबार बन्दिपुर गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिकाले स्वास्थ्य सम्बन्धि तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सन्चालन भईरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएको बताए ।

सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्यकेन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, गन्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको सरकारी अस्पताल, निशुल्क औषधीहरु पर्याप्त मात्रामा वितरण तथा कोभिड संक्रमतिको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आसोसेलेसन सहितको अस्पताल बन्दिपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको अध्यक्ष थापाको भनाई थियो । नागरिकहरु अझै पनि धेरै सचेत नभईसकेको भन्दै अध्यक्ष थापाले सरकारी स्वास्थ्य संस्थामा सेवा लिन आउनु पर्नेमा जोड दिए । जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको उनको भनाई थियो । बन्दिपुर अस्पतालको स्तरबृद्धी गरि ५० शैयाको बनाउने र मेडिकल शिक्षा समेत दिने गरि पुर्वाधारको निर्माण भईरहेको अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाईएको बताईन् । सबैको सहकार्य र समन्वयले कोभिडसँग जुधिरहेको भन्दै अव गाउँपालिका कोभिडको डेन्जर जोनमा नरहेको उपाध्यक्ष गुरुङले जानकारी दिईन् । स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति गाउँपालिका सचेत भएको भन्दै जिम्मेबार नागरिकले कमीकमजोरीहरु सार्वजानिक स्थानमा भन्नु भन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाँडै्र समाधान हुने उनको भनाई थियो । प्रमुख प्रशासकीय अधिकृत महेस सुवेदीले सम्पर्ण वडाहरुमा स्वास्थ्य चौकीको स्थापना गरिएको भन्दै अव तिनै वडाहरुबाट जनतालाई घर दैलोमै सेवा दिने बताए । निशुल्क वितरण गर्ने औषधी खरिद प्रक्रियामा रहेको उनले जानकारी दिए । बन्दिपुर अस्पताललाई कोभिड अस्पताल बनाई संक्रमितहरुको त्यही उपचार गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरिरहेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए । उनका अनुसार पाँच सय ६६ जनाको पिसिआर परिक्षण गरिएकोमा ७० जना संक्रमित भएको र त्यस मध्ये ६० जना निको भई हाल १० जना होम आईसोलेसनमा रहेका छन् । संक्रमित मध्ये १० जना स्वास्थ्यकर्मी रहेको भट्टराईले जानकारी दिए । मानवअधिकार समुहकी संयोजक दिलकुमारी रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा समुहका सदस्य शान्ती कुँवर र काशिनाथ भट्टराईले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नु पर्ने बताए । सो कार्यक्रमको सन्चालन इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।
HUMAN RIGHTS NEWS PORTAL







