बाँकेका पत्रकार र पर्यवेक्षक भन्छन्, ‘पहिले आफैले आचार संहिता पालना गरौं र अनि दललाई खबरदारी गरौं’
मेरो खुशी डटकम । नेपालगजञ्ज । २०७९ असोज ३० गते
नेपालगन्ज : ‘अरुलाई चोर औंला देखाउँदा बुढी औंलाले आफैलाई पनि देखाउँछ’, भने झैं बाँकेका पत्रकार र निर्वाचन पर्यवेक्षकहरुले आफूले इमान्दारितापूर्वक आचार संहिता पालना गरेर मात्र अरुलाई खबरदारी गर्न सुझाव दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले आइतबार नेपालगन्जमा आयोजना गरेको स्वच्छ, निष्पक्ष र भयरहीत निर्वाचनका लागि सञ्चारकर्मी र पर्यवेक्षकबीचकोे अन्तरक्रिया कार्यक्रममा बाँकेमा कार्यरत पत्रकार, अधिकारकर्मी, निर्वाचन पर्यवेक्षकले राजनीतिक आस्थाभन्दा माथि उठेर आफू सच्चिएर मात्र अरुलाई सच्चाउन सकिने धारणा राखेका हुन् । कार्यक्रममा बरिष्ठ पत्रकार तथा लेखक नरेन्द्रजंग पिटर, कान्तिपुर टेलिभिजनका जे.पाण्डे, नागरिक दैनिकका अर्जुन ओली, सञ्चारिक समूह बाँकेका अध्यक्ष रुपनी जीएम, रेडियो बागेश्वरीका ओविराज आचार्यकाले पत्रकारले दल र उम्मेदवारको बढाइचढाइ गरेर समाचार प्रकाशन प्रसारण गरिरहेको बताएका थिए । उनीहरुले पत्रकार आफूले निर्वाचन आचार संहिता पालना गरेर मात्र दल र उम्मेदवारले आचार संहिता उल्लंघन गरेको समाचार प्रकाशन गर्न आग्रह गरेका थिए ।
पत्रकारले सत्यतथ्य सूचना मात्र प्रकाशन प्रसारण गर्नुपर्ने भन्दै भ्रमित सूचना र प्रायोजित सूचनाबाट जोगिन पनि उनीहरुको सुझाव थियो ।कार्यक्रममा मानव अधिकार आयोगका द्वारिका अधिकारी, बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ताहरु वसन्त गौतम, सुरेश गौतम, पदम पाण्डे, इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, फातिमा फाउण्डेशनकी मैैमुना सिद्धिकी, कमला पन्त, प्रभातसिंह ठकुरीलगायतले पर्यवेक्षकले पनि निर्वाचन आचार संहिता पालना गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । अनौपचारिक रुपमा सञ्चालन गरिएको कार्यक्रममा पत्रकार र अधिकारकर्मीले निर्वाचनका बेलामा आफूले गरेका कामको समीक्षा गर्दै विगतका कमिकमजोरीहरु सच्चाएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
HUMAN RIGHTS NEWS PORTAL






