बालबालिको दुरुपयोग नगर्न बालअधिकार मञ्चको अपिल
सफल आवाज डटकम । पोखरा । ०७९ पुस २० गते
बालअधिकारका लागि नागरिक समाजको संजाल (बालअधिकार मञ्च) कास्कीले सार्वजनिक समारोहमा ससाना बालबालिकालाई उपस्थित नगराउन अपिल गरेको छ । पुस १७ गते भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा अतिथि स्वागतको लागि पञ्चकन्याको रुपमा ससाना नानीहरुलाई उपस्थित गराईएकोमा मञ्चले ध्यानाकर्षण भएको जनाएको छ । पुस महिनाको कठ्यांग्रिदो चिसोमा आधा बाहुला भएको कपडामा स्वागतको लागि बालिकाहरुलाई ल्याइनु बालबालिकाप्रतिको असंवेदनशलिता भएको जनाईएको छ । यस्तै बालअधिकारको हनन् भएको उल्लेख छ । राज्यले बालबालिकाको अधिकारको सुरक्षा र हितलाई प्राथमिकता दिनुपर्ने प्रमुख दायित्व भएको र उनीहरुको अधिकार संविधानतः नै सुनिश्चित गरिसकेको अवश्थामा यस्ता घटनाले कार्यान्वयन पक्ष अझैं संवेदशलि हुन नसकेको जारि अपिलमा जनाईएको छ ।
बालबालिकाको सुसूचित स्वीकृतिबिना उनीहरुलाई यस्ता समारोहका काममा लगाउन पाईदैन । उनीहरुले आफैं निर्णय गर्न नसक्ने अवश्थामा काममा लगाउनु भनेको जोरजुलुम गरेको र यो बालअधिकार कानूनले निषेध गरेको जारि अपिलमा उल्लेख छ । अपिलमा लेखिएको छ, पञ्चकन्याको रुपमा बालबालिकाको प्रयोग सहभागिताको नाममा गरिएको अपव्याख्या र गलत अभ्यास भएको मञ्चले जनाएको छ ।
महानगरपालिकाको अप्रत्यासित बिदा दिने निर्णयले बालबालिकाहरु शिक्षाको अधिकारबाट बञ्चित हुनु परेको अवश्था सृजना भएको र बिदाको जानकारी नपाएर धेरैजसो बालबालिका विद्यालयको गेटबाट फर्किनु परेको थियो । सेवाग्राही पनि सेवा लिन नपाई फर्किएका थिए । मञ्चले सरकारी, गैरसरकारी तथा नीजि हरेक क्षेत्रले यस्ता अभ्यासलाई प्रश्रय नदिन, बालबालिकाहरुको सर्वोत्तम हित र संवेदनशिलतालाई पहिलो प्राथमिकतामा राख्न अपिल गरेको छ । अपिल संयुक्त रुपमा इन्सेक पोखराका शिवप्रसाद खकुरेल, कोपिला नेपालका क्षमता खड्का, चिन्ड्रेन नेपालका रमेश सुवेदी, बाल हेल्पलाईन कास्की, सिविन पोखराका शंकर नेपाली, पोखरा उद्योग वाणिज्य संघ वालश्रम न्यूनिकरण कार्यक्रमका प्रकृति गुरुङ, मीना थापा, बालहितकारी परियोजना नेपालका संगीता भण्डारी, महानगर बाल मञ्चका सन्ध्या श्रेष्ठ, कानून अन्वेषण तथा श्रोत विकास केन्द्रका सुष्मा ओझा र इन्सेक पोखराकी सवनम शर्माले जारि गरेका हुन् ।