बालसुधार गृहको अवस्था बुझ्न अधिकारकर्मीको टोली भैरहवा जाँदै
नेपालगञ्ज न्यूज डटकम । २०८० साउन २५ गते
सार्वजनिक सरोकारको क्षेत्रमा काम गर्दै आएका बाँकेका कानून ब्यवशायी र अधिकारकर्मीको टोली बालसुधार गृह भैरहवाको वास्तविक अवस्था बुझ्न शुक्रवार भैरहवा जान लागेका छन् । सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सहसंयोजक अधिवक्ता लोक बहादुर शाह, समुहका सचिव एवं एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, सदस्य अधिवक्ता बिकाश आचार्य र अनौपचारिक क्षेत्र सेवा केन्द्रका लुम्बिनी प्रदेश संयोजक भोला महत लगायतको टोली भैरहवा जान लागेको हो ।
रुपन्देहीको भैरहवामा रहेको बालसुधार गृहमा रहेका बालकहरुको आधारभुत बालअधिकार उपभोगको अवस्था नाजुक रहेको र कमजोर भौतिक संरचनाका कारण बालकहरुले बसाई निकै कष्ठकर रहेको समाचार सार्वजनिक भएको सन्दर्भमा बालसुधार गृहको वास्तबिक अवस्था बुझेर तथ्य संकलन गर्न भ्रमण गर्न लागिएको भ्रमणमा संलग्न वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले जानकारी दिए ।
बालसुधार गृहको अवस्था ज्यादै नाजुक रहेको र त्यहाँ रहेका बालकहरुले आधारभुत बालअधिकारको उपभोग गर्न सम्म नपाएको भन्ने समाचार सार्वजनिक सन्दर्भमा सुधार गृहको वास्तबिक अवस्थाका बुझि आवश्यकता अनुसार न्यायिक प्रक्रियामा जाने उदेश्यका साथ भ्रमण गर्न लागीएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए । अधिकारकर्मी र सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून ब्यवशायीद्धारा बालसुधार गृह भैरहवाको अवस्था बुझी बालकहरुको शिक्षा, स्वास्थ्य लगायतका आधारभुत बालअधिकाको संरक्षण र बालन्यायको प्रभावकारी कार्यान्वयनका लागी मुद्धामा जाने तयारीका साथ भ्रमण गर्न लागीएको अधिवक्ता बसन्त गौतमले बताए ।
Source: https://www.nepalgunjnews.com/main-news/20230868443/