बेपत्ता परिएकाका परिवारको प्रश्न ‘घाउ बल्झाइन्छ मात्र, न्याय किन दिइँदैन ?’

केन्द्र खबर डटकम । २०८० भदौ १२ गते

माछापुच्छ्रे–२ का केदार आचार्यका भाई आनन्द आचार्यलाई २२ माघ २०५८ मा हाल माछापुच्छ्रे १ मा रहेको सनी पाखाबाट तत्कालिन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको हो । त्यसपछि आनन्दको अत्तोपत्तो छैन । २२ वर्षको यो अवधीमा कयौंपटक भाइ फर्कने आशाले केदारलाई झक्झकाइ रह्यो । ‘अझैपनि भाई जीउँदै रहेको आशा छ । तर, अहिलेसम्म न भाइको सास पाइन्छ न लाश पाइयो ।’ उनले भने, ‘हामीलाई राज्यले दिने आस्वासन चाहिएको होइन । हामीले कुनै सेवा सुविधा पनि मागेका होइनौं । हामीलाई यथार्थ जानकारी दिइयोस् । कि लाश लाहियो, कि सास चाहियो हाम्रो भन्नु यत्तिछ ।’ गोरखाकी राधिका सिंखडा आफूँ ३५ वर्षको हुँदा आफ्ना श्रीमानलाई सेनाले पक्रेर लगेको सम्झन्छिन् । श्रीमान अहिलेसम्म फर्केका छैनन् । ‘मन आत्तिएको छ । श्रीमानको खोजीमा हारगुहार गर्दा कुनै अत्तोपत्तो छैन । भएको सबै पैसा सम्पत्ति सकियो’ उनी भन्छिन्, ‘अब हुनुपर्ने यहाँभन्दा के नै छ र ? मेरो चाहना बेला बखत हामीलाई बोलाएर संघ संस्थाले गर्ने कार्यक्रमले घाउ कोट्याउनेमात्र काम गरेको छ । यस्ता कार्यक्रममा आउन नपरेपनि हुनेथियो ।’

म्याग्दीका मिठु पुनका भाइ ओम प्रसाद पुनलाई पनि २ जेठ २०६१ मा सेनाले लगेर बेपत्ता परेको हो । भक्कानिँदै उनले भने, ‘यहाँ कूरा पोखेर के नै हुन्छ र ?’ बलपूर्वक बेपत्ता परिने कार्य विरुद्धको १३ औं अन्तर्राष्ट्रिय दिवशका अवसरमा पोखरामा आयोजित कार्यक्रममा कास्कीका केदार आचार्य, गोरखाकी राधिका सिंखडा र म्याग्दीका मिठु पुन मात्र होइन बेपत्ताका सहभागी परिवारका तर्फबाट बोल्ने सबैले यस्तै पीडा पोखे । भक्कानिँदै उनीहरुले पीडा पोख्दा सहभागीका पनि आँखा रसाएका थिए । यसरी पीडा पोख्नेमा कास्कीका कृष्ण प्रसाद पराजुली बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्नेजस्तो विषयमा पनि राजनीतिकरण गरिनु अत्यन्तै दूखद् अवस्था रहेको पीडा पोखे । उनले प्रधामन्त्री, मन्त्री र नेताहरुले किन बेपत्ता परिएकाको सवालमा सम्बेदनसिल नभएको गुनासो गरे । उनका भाई शिवप्रसाद पराजुलीलाई २०५८ मा पुम्दीभुम्दीबाट तत्कालिन साही नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । अहिलेसम्म उनी बेपत्ता छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समयन्वय समिति कास्कीका प्रमुख लीलाधर पैडेलले सहिद र बेपत्ता पारिएकाका परिवारका सवाल कुनै राजनीतिक पार्टी विशेषको सवाल नभई सिंगो देशको साझा सवाल रहेको बताए । उनले बेपत्ताको अवस्था के हो भन्ने कुरा थाहा दिन अब ढिलाई गर्न नहुने धारणा राखे । सहिद र बेपत्ताहरुको सपना साकार पार्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तेजकुमारी पौडेल, राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका अधिकृत टंक खनाल, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, इन्सेक गण्डकीका संयोजक शिव खकुरेल र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक घिमिरे लगायतले पीडितलाई न्याय दिन अनिवार्य रहेको र ढिला न्याय दिनुभनेको न्याय नदिनु सरह भएकाले सरकारले छिटोभन्दा छिटो बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने धारणा राखे ।

हामी पनि युद्धमा उछिट्यिएर बाँचेको हो : मन्त्री सिंखडा

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले हिजो युद्धमा आफूहरुपनि उछिट्यिएर बाँचेको बताइन् । आफूसंगै युद्धमा होमिएकाहरु कति बेपत्ता भएको र कति सहिद भएको भन्दै उनले बेपत्ता र सहिदहरुको बाँचेकाले सपना साकार पार्नुपर्ने उनको भनाई थियो । विगतको युद्ध देशको व्यवस्था परिवर्तनका लागि, राजतन्त्र अन्त्यका लागि भएको हुनाले युद्धमा ९५ प्रतिशत जनताले साथ दिएको उनको दाबी छ । मन्त्री सिंखडाले आफूले पदमा रहेर अनियमितता हुन नदिने र आफूले पनि अनियमितता नगर्ने बाचा गरिन् । ‘हिजो हामीपनि युद्धबाट उछिट्यिर बाँचेको भन्छु । संगै रहेका साथिहरु कति बेपत्ता छन् । कति सहिद भए । हामी बाँचेकाले अहिले परिवर्तनको सेवासुविधा भोग गरेका छौं । हामीले उहाँहरुको सपना साकार पार्नुपर्नेछ’ उनले भनिन् ।

Source:  https://kendrakhabar.com/2023/57173/