बेपत्ता परिवारको प्रश्न : हाम्रा मान्छे मारिए कि जिउँदै छन् ?

अनलाइन खबर डटकम । सुर्खेत । २०७९ भदौ १४ गते

 

वीरेन्द्रनर नगरपालिका–१४, बयलकाँडाकी विष्णु खत्री (७७) ले सशस्त्र द्वन्द्वका क्रममा दुई सन्तान गुमाइन् । एक छोरा मारिए, अर्को छोरा बेपत्ता पारिए । सशस्त्र द्वन्द्वमा उनका १७ वर्षीय साइला छोरा टेकबहादुर खत्रीलाई २०६० फागुनमा तत्कालिन विद्रोही माओवादीले स्कुलबाट अपहरण गर्‍यो । खत्रीले पछि थाहा पाइन्, त्यहाँबाट पनि सेनाले माओवादी भएको आरोपमा पक्राउ गरेर लग्यो । त्योभन्दा दुई वर्षअघि वैशाख २०५८ मा माइलो छोरा अमरबहादुर खत्री २१ वर्षकै उमेरमा माओवादी सशस्त्र युद्धमा सहभागी भएका थिए । अमर पनि माओवादी र सेनाबीच भएको झडपमा रुकुममा मारिए । युद्ध अन्त्य भएको धेरैपछिसम्म पनि गाउँमा कसैका छोरा देख्दा उनी भक्कानिएर रुन्थिन् । ‘साइलोलाई, आर्मीले लिएर मार्‍यो भन्छन्, लास पनि देख्न पाइनँ बाबु’ हत्केलाले आँसु पुछेर ती ७७ वर्षीया आमाले भनिन्, ‘छोरा नदेखेको दिनदेखि मेरा आँशु रोकिएको छैन ।’

मुलुकमा युद्धविराम भएर शान्ति सम्झौता भएको डेढ दशक पुग्न लाग्यो । तर उनको मन शान्त छैन । छोराहरु मारिएको र वेपत्ता पारिएको बदलामा उनले १० लाख रुपैयाँ पाइन् । तर उनको घाउमा मल्हम लगाउने अरू कुनै काम सरकार र तत्कालीन विद्रोही पक्षबाट हुन सकेन । अहिलेसम्म छोरा मारिएको घटनाबारे सत्यतथ्य छानबिन भएको छैन । ‘मेरो छोरालाई सेनाले कहाँ लग्यो, किन मार्‍यो ? त्यो स्कुले बालकले के बिराएको थियो !’ उनले भनिन्, ‘दोषीहरूलाई जोगाउन सरकार नै लागेको छ । जुन दिन दोषीलाई कारबाही होला, त्यही दिन मनले शान्ति पाउला ।’ वीरेन्द्रनर नगरपालिका–१ कि भगवती पुरी (७०) को सशस्त्र द्वन्द्वमै बुढेसकालको साहारा खोसियो । २०६० साल जेठमा घर नजिकैको स्कुल गएकी छोरी इन्द्रा पुरी (१६) घर फर्किइनन् । कहाँ गइन्, कसले लग्यो अहिलेसम्म अत्तोपत्तो छैन । ‘श्रीमान बितेपछि बुढेसकालको सहारा त्यही छोरी थिई, कसैले सेनाले मा¥यो भन्छन्, तर सत्य के हो थाहा छैन’ पुरी भन्छिन् ।

उमेर बढेसँगै छोरीको मुहार क्रमशः धमिलिंदै गयो तर घाउ बल्झन छोडेन । घटना भएको १९ वर्ष बित्यो । तर पनि छोरीको सम्झनामा आँशु रोकिएन । ‘द्वन्द्वले छोरी खोस्यो, घाउ दियो । तर घाउमा मल्हमपट्टी लगाउने कोही भएन’ उनले भनिन् । बुढेसकालको साहारा बेपत्ता भएपछि अहिलेपनि जीवको चलाउन धौ–धौ पर्ने गरेको उनी, बताउँछिन् । लेकवेशी नगरपालिका–४, सुर्खेतकी कलसा थापा (५०) का श्रीमान बेपत्ता छन् । २०६२ सालमा उनका श्रीमान पदमबहादुर थापालाई राति सुतेको बेला माओवादीले उठाएर लग्यो । उनका दुई छोरा सेनामा कार्यरत थिए । त्यही कारण देखाएर माओवादीले श्रीमानलाई अपहरण गरेका थिए । त्यसपछिका कलसाका दिन र रात रोएरै बिते । विगततिर फर्कियो कि आँखा रसाइहाल्छन् । श्रीमान् गुमाएको बदलामा उनले १० लाख रुपैयाँ पाइन् ।

खेती किसानी गर्ने, सोझा श्रीमान अनाहकमा मारिएपछि न्याय माग्दै कलसा कहाँ मात्र पुगिनन् ? सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिइन् । जहाँ बोलाइयो त्यहाँ पुगिन् । ‘यत्रो वर्ष बित्यो । श्रीमानको कुनै अत्तोपत्तो छैन । सरकारले हामीलाई कि लास, कि सास दिनुप¥यो’ कलसाले भनिन् । बेपत्ता पारिएका परिवारलाई अझ बढी पिरोल्ने कुरा त के भने अहिलेसम्म बेपत्ता आफन्तको सत्यतथ्य छानबिन भएको छैन । ‘हाम्रा दाइ, भाइ, छोरा छोरी क–कसले, किन मार्‍यो ?’ नरहरिनाथ गाउँपालिका–२, कालीकोटका भद्रबहादुर विष्ट राज्यलाई प्रश्न गर्दै भन्छन्, ‘हामीलाई जवाफ चाहिन्छ !’ उनी आफ्नो दाइ मार्ने र भाइलाई बेपत्ता पार्नेहरूबारे जानकार छन् । उनीहरूविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन पनि दिएका छन्, तर छानबिन अघि बढेको छैन । दुई दशक बितिसक्दा पनि ती घटनाबारे सरकार चुपचाप छ । दोषीहरूलाई जोगाउन सरकार नै लागेको उनको आरोप छ ।

बेपत्ता पारिएका व्यक्तिका आफन्त अझै पनि आफ्ना मान्छेहरू आउने आशमा छन् । तर यतिका वर्ष बितिसक्दा पनि सम्पर्कमा नआउँदा उनीहरूको पीडा बल्झिएको इन्सेक कर्णालीका संयोजक नारायण सुवेदी बताउँछन् । ‘हराए, मारिए वा जिउँदै छन्, पत्ता नलाग्नु ठूलो पीडा हो । यस्तो महत्वपूर्ण विषयमा राज्य गम्भीर हुन नसक्नु दुखद कुरा हो’, सुवेदीले भने । कर्णालीमा धेरै जना बेपत्ता भए राहत नपाइने भनेपछि धेरैले मृतकको सूचीमा नाम लेखाएका थिए । त्यसैले बेपत्ताको संख्या धेरै रहे पनि तथ्यांकमा कम देखिने गरेको सुवेदीले बताए । राज्य र विद्रोही पक्षबाट ९९ जना बेपत्ता भएको इन्सेक कर्णालीको तथ्यांक छ । त्यस्तै हत्या गरिएका २ हजार ७०५ र ४३२ जनाको अंगभंग भएको तथ्यांक छ । बेपत्ता भएका व्यक्तिका परिवारमा विचल्ली छ । कमाउने छोरा, छोरी मारिएका छन् । उनीहरूको संरक्षणको जिम्मा लिनुपर्ने राज्य चुपचाप छ । राज्य वा विद्रोही पक्ष जसले बेपत्ता पारे पनि बेपत्ता पार्ने काम जघन्य अपराध भएको मानव अधिकार आयोग सुर्खेतका प्रमुख मानबहादुर कार्कीले बताए । दशवर्षे लामो सशस्त्र द्वन्द्वमा सबैभन्दा धेरै मार खोपेको कर्णालीका हरेक घरमा युद्धका पीडा कथा–व्यथा छन् । हरेकजसो परिवारले कोही न कोही गुमाएकै छन् । ५ मंसिर २०६३ मा भएको १२ बुँदे शान्ति सम्झौता पछि १० वर्ष लामो युद्ध अन्त्य भयो । राज्य र विद्रोही पक्षले बन्दुक बिसाएपछि मुलुकमा हिंसात्मक गतिविधि हुन छाडे । शान्ति प्रक्रियापछि मुलुकमा धेरैले शान्तिको अनुभूति गरे । तर द्वन्द्व प्रभावित कर्णालीका गाउँमा आज पनि युद्धको घाउ उस्तै छ ।

Source: https://www.onlinekhabar.com/2022/08/1182831?fbclid=IwAR36ReozQSbnO_FOMllm-Tfji3QeSRiU-R36sPQxS8Tc4JVD6vZlV8gJBdc