मनहरी गाउँपालिका ४ नं वडामा सार्बजनिक सुनुवाई

मनहरी लाइभ डटकम । मकवानपुर । २०७९ भदौ १३ गते

मनहरी–भदौ १२ गते । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन देखिने गरी काम अघि बढ्ने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनु भएको छ । मनहरी गाउँपालिका वडा नं ४ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डब्लुपीडीले आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष कालाखेतीले यस्तो बताउनु भएको हो । ‘कृषि, शिक्षा र स्वास्थ्यमा आगामी बर्ष अझै बढी लगानी गर्दै जानेछौँ’, अध्यक्ष कालाखेतीको भनाई थियो–‘यस बर्ष पक्की पुल निर्माणमा १५ करोड लगानी गर्नुपरेकाले योजना बाँडफाँटमा अलिक समस्या आयो, अर्काे बर्ष यस्तो हुँदैन ।’ अध्यक्ष कालाखेतीले आगामी बर्ष पक्की पुल निर्माणका लागि ८ करोड मात्रै लगानी गर्नुपर्ने हुँदा चालू आर्थिक बर्षकै तुलनामा पनि ७ करोड रुपियाँ बचत हुने र उक्त रकम सबै वडामा योजनाको रुपमा बिनियोजन हुने बताउनुभयो ।

कार्यक्रममा पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम, गाउँपालिका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, सामाजिक विकास शाखा प्रमुख शैलेस बास्कोटा, स्वास्थ्य इकाईकी संरचना देवकोटा लगायत आम जनसाधारणले उठाएका बिषयबस्तुहरुबारे जबाफ दिनु भएको थियो । सो क्रममा ४ नं वडाध्यक्ष प्रकाश थापाले उठेका सबालहरुको आफूले राम्ररी मनन् गरेको र निकट भबिष्यमै समाधान भएर जाने बताउनुभयो । तर, शिक्षा क्षेत्रमा उठाइएका प्रश्नहरुका बारेमा भने वडाध्यक्ष थापाले अभिभावकहरु नै सचेत नहुँदा समस्या दोहोरिरहेको बताउनुभयो । सार्बजनिक सुनुवाई कार्यक्रममा घरेलु हिंसा भोग्दै आइरहेकी महिलाको समस्यादेखि विद्युत बिस्तार, खानेपानी, सीप तथा तालिम, विद्यालयमा छात्रबृत्ति लगायतका बिषयमा सबालहरु उठेको थियो । वडाध्यक्ष थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले औचित्यबारे स्पष्ट पार्नु भएको थियो ।

Source: http://www.manaharilive.com/2022/08/28/%e0%a4%ae%e0%a4%a8%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a5%aa-%e0%a4%a8%e0%a4%82-%e0%a4%b5%e0%a4%a1%e0%a4%be/