मनोसामाजिक चिकित्सककाे माग गर्दै ज्ञापन पत्र
सहीखबर डटकम । २०७९ फागुन २८ गते
मकवानपुर । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ खण्ड ७ को ३५ नम्बर बुँदामा उल्लेख भए अनुसार मानसिक तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूको उपचारको व्यवस्था माग गरिएको छ । कोशिशको पहलमा विभिन्न सरोकारवाल संस्थाहरुका प्रमुख तथा पदाधिकारीहरुले आइतबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान एवम् हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई ज्ञापन पत्र दिंदै यस्तो माग गरेको हो । मनोसामाजिक अपाङ्गगता भएका व्यक्तिहरूको समूह साथै कोशिश मकवानपुरको समन्वयमा ऐक्यवद्धता सहित ज्ञापन पत्र पेस गरिएको हो । सबै प्रकारका अपाङगता भएका सदस्यहरूको सञ्जाल संयोजक प्रताप तितुङ र मानोसामाजिक अपाङगता भएका समुहका सदस्य कान्छी तामाङ्गले रजिष्टार राजेश प्रसाइलाई ज्ञापन पत्र दिएका हुन् । उक्त ऐनमा उल्लेख भए अनुसार व्यवस्था व्यवहारमा लागू नहुदा मनोसामाजिक समस्या भएका व्यक्तिहरू उपचारमा सहज पहुँच नभएको भन्दै यस्तो माग गरिएको हो । नेपाल राष्ट्रिय अनुसन्धान परिषद्ले सन् २०१७ देखि २०२० सम्म गरेको अनुसन्धान अनुसार बागमती प्रदेशमा करिब १२ प्रतिशत व्यक्तिमा कुनै कुनै किसिमको मानसिक स्वास्थ्य समस्या छ ।
मकवानपुरमा पनि उपलब्ध मानसिक स्वास्थ्य सेवालाई निकै कहाली लाग्दो अवस्थामा रहेको कोशिशकी सुनिरा लामाले बताइन् । प्रदेश राजधानी भएको मकवानपुर जिल्लामा समेत मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवाको सुविधा लिनबाट बञ्चित हुनुपरेको उनले बताइन् । २१ औं सताब्दीमा पनि विशेषज्ञ सेवाको अभावमा, परम्परागत उपचार पद्धती, धामीझाकिमा केन्द्रित विश्वास साथै भएका श्रोत साधनहरूको यथोचित सदूपयोग हुन नसकेको ज्ञापन पत्रका उल्लेख गरिएको छ । जसको कारण उपचारमा चुनौति निरन्तर थपिरहेको ज्ञापन पत्रमा उल्लेख छ । सामान्य उपचारको लागि पनि काठमाडौं, बिरगञ्ज र चितवन लगायतका शहरहरूमा जानुपर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको छ । यसैको कारण रोगको भारले झन् थप समस्या भएको लामाले बताइन् । मानसिक सु स्वास्थ्य समस्या भएकै कारण आत्महत्यको समस्या समेत बढेको प्रताप तितुङले बताए । नेपाल प्रहरीको तथ्याङ्ग अनुसार मकवानपुर जिल्लामा आत्महत्या दर प्रत्येक वर्ष बढ्दो रूपमा रहेको उनले बताए । मकवानपुर जिल्लामा मानसिक स्वास्थ्य सेवाको अवस्थामा देखिएको खाडललाई स्वास्थ्य मन्त्रालय बागमती प्रदेश सरकारले विभिन्न पहलकदमी गरिरहे बताइएको छ ।
प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा मानसिक स्वास्थ्य सेवाका लागि मनोचिकित्स सहितको युनिटको व्यवस्था गरेको तर हाल चिकित्सक नहुँदा सेवाग्राहीहरूले मनोचिकित्सकिय सेवा लिन नपाएको प्रति उनीहरुले ध्यानाकर्षण गराएका हुन् । चिकित्सक नहुँदा सेवाग्राहीहरू तथा औषधि खाईरहेका व्यक्तिहरूले औषधि बीचैमा छाड्ने वा सेवाको निरन्तरता नहुँदा झन् जटिल अवस्था सृजना गर्ने हो कि भन्ने अवस्था आएको भन्दै छिटोभन्दा छिटो यसको व्यवस्था हुनु पर्ने माग गरिएको छ । ज्ञापन पत्र बुझाउने क्रममा मानोसामाजिक अपाङगता भएका समुहका अविभावक उषा पाखरीन,मानोसामाजिक अपाङगता भएका समुहका सदस्य सपना घलान , इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, माइती नेपाल मकवानपुर प्रमुख माया तामाङ, हिमराइट मकवानपुर प्रमुख कुमारी वाईवा सिविन बाल हेल्प लाइनका प्रबन्धक झबिन्द्र ज्ञावाली , कोशिश पैरवी अधिकृत सुनिरा लामा, सामुदायिक अभियानकर्ता सकुन्तला पौडेल, कल्पना अधिकारीलगायतको उपस्थिती थियो । ज्ञापन पत्र बुझ्दै रजिष्टार प्रसाइले प्रतिष्ठानबाट बिज्ञापन नै खुलाएर मनोसामाजिक उपचारको लागि डाक्टर माग गर्दा समेत नपाएको तर आफूहरुले पहल जारी राखेको बताए । आकर्षक आर्थिक सुबिधा सहित नयाँ चिकित्सक राख्नको लागि प्रतिष्ठान तयार रहेकोले, सामाजिक संस्थाको सहायताले चिकित्सक सम्पर्कमा ल्याइदिन उनले आग्रह गरे ।