महामारी, विपद् न्युनिकरणमा सरकार र नागरिकको भूमिका समान

सफल आवाज डटकम, पोखरा । २०७८ पुस १२ गते

महामारी र विपद्को समयमा सरकार र नागरिक समाजको महत्वपूर्ण भूमिका हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले पोखरामा आयोजना गरेको महामारी र विपद्मा राष्ट्रिय मानवअधिकार संस्थाहरु र नागरिक समाजको भूमिका तथा चुनौति बिषयक अन्तक्र्रियामा बोल्दै गण्डकी प्रदेशका शिक्षा प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सरकारको एकल प्रयासले मात्र विपद् न्युनिकरण गर्न नसकिने बताउँदै यसमा नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले किताबी ज्ञानले मात्र पर्याप्त नहुने भन्दै समाज उपयोगी शिक्षामा जोड दिए । कार्यक्रममा इन्सेककी बहस तथा पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै कोभिड कालमा सिमान्तकृत, दलित, अपांगता भएका बालबालिका तथा जेष्ठ नागरिकको जिवनयापनमा समस्या भएको, घरेलु हिंसामा समेत वृद्धि भएको उल्लेख गरिन् ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख चन्द्रकान्त चापागाईले कोभिड कालमा आयोगले गरेका पहलका बारेमा कार्यपत्र प्रस्तुत गर्दै जनशक्तिको अभाव, राहत वितरण जस्ता कार्यमा समस्या भएको बताए । उनले प्राकृतिक विपद् काबु बाहिरको बिषय भएको उल्लेख गर्दै मानव सिर्जित विपद्को न्युनिकरणलाई कम गर्न मानिसको महत्वपूर्ण भूमिका हुने बताए । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले कोरोनाका समयमा संस्थाले विभिन्न क्वारेन्टाइन, अस्पत्तालहरुको अनुगमन गरेको बताए । उनले महामारी न्युनिकरणका लागि पूर्व तयारी जरुरी रहेको बताए । समयमा नै स्रोत साधनको परिचालन गर्न सके क्षति कम हुने उनको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेस गण्डकीका प्रमुख सचेतक ओमकला गौतम, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, गैसस महासंघ गण्डकीका उपाध्यक्ष गोपाल खड्का, अधिवक्ता गीता लामिछाने, अधिवक्ता गिरीधारी सुवेदी, पत्रकार महसंघ कास्कीका उपाध्यक्ष जमुना बर्षा शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक गण्डकी प्रदेशकी अधिकृत सवनम शर्माले गरेकी थिइन् ।

मानवअधिकार रक्षकहरुको अवस्था र सुरक्षा सवाल विषयक छलफल

इन्सेकले आइतवार नै मानवअधिकार रक्षकहरुको अवस्था र सुरक्षा सवाल विषयमा पनि छलफल गरेको छ । कार्यक्रममा मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईले आयोगले विना पूर्वाग्रह निष्पक्ष ढंगले कार्य गर्दै आइरहेको बताए । उनले असल शासन तथा सरकारी नीति तथा कार्यान्वयनमा सहयोग गर्ने बताए । त्यस्तै धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्न पनि आयोगले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । त्यस्तै इन्सेक गण्डकीका प्रमुख शिव खकुरेलले मानवअधिकार रक्षकलाई जसरी सरकारले सम्मान दिनु पथ्र्यो त्यसो हुन नसकेको बताए । प्रदेश सरकारले अधिकारकर्मीका लागि नीति समेत नबनाएको गुनासो गरे । मानवअघिकारको क्षेत्र निकै संवेदनशील क्षेत्र भएकाले अधिकारकर्मीहरु पनि सचेत हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा इन्सेक अनलाईनका सम्पादक रमेश तिमिल्सिनाले मस्यौदाका बारेमा प्रकाश पार्दै विधेयक तयार गर्न प्रदेश र जिल्लामा धेरै छलफलबाट मस्यौदा तयार पारिएको बताए ।

यसैबीच, भेलाले गण्डकी प्रदेश स्तरीय १५ सदस्यीय मानवअधिकार रक्षक संजाल गठन गरेको छ । सञ्जालको अध्यक्षमा इन्दिरा पौडेल, उपाध्यक्षमा गोपाल खड्का, सचिवमा केशव पौडेल, कोषाध्यक्षमा केशु भुजेल रहेका छन् । त्यस्तै सदस्यहरुमा कुञ्जनी प्यासी, गुञ्जन प्यासी, तिलक थापा, रामहर्ष पौडेल, पदम पहारी, सुष्मा ओझा, अमृत बास्कुने, नम्रता थापा, विजय पौडेल, श्यामनाथ कुँवर र कल्पना पौडेल रहेका छन् । सल्लाहकारमा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी र इन्सेक गण्डकी रहेका छन् ।

Source: https://safalawaj.com/2021/12/27/55062/