महिला हिंसाका घटना बढे: इन्सेक
नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना भएको एक तथ्याकंले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार सार्वजनिक गरेको तथ्याकंले यस्तो देखाएको हो ।
११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो प्रदेशका महिलाहरुमाथी सबैभन्दा बढि हिंसा भएको उल्लेख गरेको छ ।
सन् २०१९ मा पेशागत आधारमा हेर्ने हो भने नेपालमा सबै भन्दा बढी पीडित हुनेमा एक हजार तीन सय ३८ जना कृषक महिला र एक हजार नौ सय ८४ जना गृहणी महिला रहेका छन् ।
आर्थिक उपार्जनको कुनै बाटो नभएका महिला बाध्य भएर आफुमाथि कुटपिट र हिंसा गर्ने परिवारजनका सदस्यसँग मिलापत्र गर्न बाध्य हुनु परेको ईन्सेकले जनाएको छ ।
मानव अधिकार अनुगमन र मानव अधिकार उल्लघन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०१९ मा महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूमा वृद्धि भएको जनाएको छ ।
प्रदेशका १२ वटै जिल्लाबाट प्राप्त घटनाहरूलाई अभिलेखिकरण गरी तथ्यांक सार्वजनिक गरिएको इन्सेक प्रदेश संयोजक भोला महतले बताए ।
उनकाअनुसार सन् २०१९ मा प्रदेशमा ९ सय ८६ जना महिला पीडित भएका थिए । प्रदेशमा बलात्कार तथा यौन दुव्र्यवहारबाट २ सय २० बालिका र १ सय २९ महिला पीडित भएका थिए । सन् २०१८ मा पनि सबै भन्दा बढी प्रदेशमा ७ सय ३६ जना महिला हिंसा घटनामा पीडित भएको तथ्यांक इन्सेकले सार्वजनिक गरेको थियो ।