महिला हिंसाका घटना बढ्दै

गोरखापत्र अनलाइन डटकम । २०८० मङ्सिर २७ गते

तनहुँ, मङ्सिर २७ गते । तनहुँमा महिला हिंसाका घटना बढेको छ । आफन्त तथा चिनजानकै व्यक्तिबाट महिलाहरू हिंसाको सिकार भएको तथ्याङ्कले देखाएको छ ।  प्राप्त तथ्याङ्क अनुसार अधिकांश महिलाहरु घरेलु हिंसाबाट पीडित छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) तनहुँले मङ्गबार सार्वजनिक गरेको तथ्याङ्कमा विभिन्न घटनामध्ये झण्डै आधा महिला हिंसाका घटना छन् ।   सन् २०२३ मा करिब एक वर्षको अवधिमा ८७ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९५ जना पीडित छन् । जसमध्ये ७४ जना महिला र २१ जना पुरुष पीडित भएको इन्सेक तनहुँका प्रतिनीधि प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार ४३ जना महिलाले घरेलु हिंसा पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएका छन् । भट्टराईले भन्नुभयो, “दर्ता भएका घटनामध्ये सबैभन्दा धेरै महिला हिंसाका छन्, झण्डै आधा सङ्ख्या महिलाले पीडित भएको भन्दै दर्ता गराएका छन् ।’’ धेरैजसो घरेलु हिंसा (कुटपिट, गालीगलौज, चारित्रिक आरोप, स्रोत सुविधाबाट वञ्चित ) का घटनाहरु रहेको उहाँले जानकारी दिनुभयो ।  भट्टराईका अनुसार महिलाविरुद्ध बलात्कार तथा बलात्कार प्रयासका १० वटा घटना भएका छन् । चार जना महिलाको यो अवधिमा हत्या भएको छ । पुरुषहरुप्रतिको मनोवैज्ञानिक डर, त्रास आदिले महिलाहरुले गर्ने प्रतिरोध र न्यायको प्रक्रियामा देखिनुपर्ने सक्रियताको कमीले महिलाहरु बढी हिंसाको दुश्चक्रममा पिल्सिँदै गएको भट्टराईले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले महिलाले नै महिलालाई हिंसा गर्ने गरेकोले घटना बढेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले प्रहरीले मानवअधिकार हननका घटनामा शून्य सहनशीलताको नीति लिएको बताउनुभयो । मानव अधिकारको संरक्षण र संवर्धनका लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनुभयो । नेपाली कांग्रेस तनहुँको प्रवक्ता हरि वाग्ले, नेकपा एमालेका सचिवालय सदस्य सीताराम सुर्खाली, नेकपा माओवादी केन्द्र तनहुँका कार्यालय सचिव वसन्त दरै, अधिवक्ता सरिता भण्डारी थापा, मानव अधिकार निगरानी समूह तनहुँको सदस्य वसुन्धरा घर्ती, महिला मानवअधिकार रक्षक सन्जालकी जिल्ला सदस्य सिर्जना तिवारी, नेपाल बार एसोसिएसनका सचिव हरिमान श्रेष्ठ, अपाङ अधिकारकर्मी मदन पौडेललगायतले महिला हिंसाविरुद्ध र लैङ्गिक समानताका लागि निरन्तर गाउँगाउँसम्म पुगेर सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको भए पनि समाजमा रहेको पितृसत्तात्मक सोच, लैङ्गिक असमानता, अन्धविश्वास, अशिक्षा, यौन असन्तोष र दाइजो लगायतले हिंसाका घटना हुने गरेकोले सचेतना कार्यक्रमलाई व्यापकता दिनुपर्नेमा जोड दिनुभयो । 

Source: https://gorkhapatraonline.com/news/88950