महिला हिंसा अन्त्यको माग गर्दै पोखराका अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र

सफल आवाज, पोखरा । २०७९ असार ३ गते

पोखरा, ३ असार । मानवअधिकारको क्षेत्रमा क्रियाशिल कास्कीका तीन वटा संस्थाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन् । महिलामाथि हुने हिसां अन्त्यको माग गर्दै महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य मार्फत प्रधानमन्त्री देउवालाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा कुमारी आमा नेहारिका राजपुतको मागलाई तत्काल सम्बोधन गरिनुपर्ने, जबर्जस्ती करणीका मुद्दामा हद म्यादको मापदण्ड हटाइनुपर्ने, हिंसा प्रभावितहरुलाई न्यायको सुनिश्चिता गरिनुपर्ने, पीडकलाई कानुनको दायरामा ल्याउनुपर्ने, गण्डकी प्रदेशमा निर्माण भएको सुरक्षा गृहलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने र ग्रामिण स्तरसम्म कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले ध्यानकर्षण पत्रलाई प्रधानमन्त्री समक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरे । यसअघि शुक्रबार नै अधिकारकर्मीहरुले महिलामाथि हुने हिंसा, बलात्कार र दुर्व्यवहार अन्त्यको माग गर्दै पोखराको शहिदचोकमा १ घन्टा धर्ना दिएका थिए । कार्यक्रममा बोल्दै शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवाल, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका संयोजक इन्द्रकुमारी शर्मा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले नागरिकहरुको मानवअधिकारलाई सुनिश्चित गर्ने प्रमुख दायित्व सरकारको भएकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।

Source: https://safalawaj.com/2022/06/17/74358/