मादी गाउँपालिकामा बालमैत्री अभिमुखिकरण

अनलाइन अन्नपूर्ण, पोखरा । २०७९ असार ५ गते

बालमैत्री स्थानीय शासन प्रबद्र्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रम कास्कीको मादीमा शनिबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको समन्वय तथा सामाजिक विकास कार्यालय कास्कीको समन्वयमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाहरु भविष्यका कर्णधार भएकाले बालमैत्री शासनमा जोड दिनुपर्ने बताएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले आगामी साउन १ देखि ३ बर्ष सम्म मादीमा शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्य तथा जातिय विभेद सम्बन्धि कार्यक्रम सञ्चालन गरिने बताए । उनले संस्थाले लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेकाले अभियानले पालिकालाई बालमैत्री घोषणमा इट्टा थप्न मद्दत पुग्ने उल्लेख गरे । कार्यक्रममा इन्सेक गण्डकीकाका संयोजक खकुरेलले गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङलाई मानवअधिकार, बालअधिकार, गाउँपालिकाका १२ वटै वडामा सचेतना कार्यक्रमको आयोजना, मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाका लागि स्थानीय समन्वय समिति गठन गर्ने र नियमित बैठक सञ्चालन गर्ने तथा बालमैत्री स्थानीय शासन प्रवद्धन गर्ने सम्बन्धि प्रस्ताव हस्तान्तरण गरेका थिए ।

गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बालमैत्री शासन सबैको साझा एजेण्डा भएको बताउँदै २०८२ साल सम्म गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले बालबालिका र महिला मैत्री विकास भएमात्र अन्य क्षेत्रको विकास हुने भएकाले आगामी पाँच बर्षभित्रमा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने बताइन् । सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापाले बालबालिकाहरुको अधिकारका लागि सबै संग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बाल हितकारी पारियोजना कास्कीका संयोजक केशव पौैडेलले बालमैत्री स्थानीय शासन प्रबद्र्धन अभिमुखिकरण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै नीति योजना निर्माण तथा भौतिक संरचना बनाउँदा बालबालिकाहरुको अधिकार र आवाजलाईपनि समेटनुपर्ने बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा, शिक्षक रुद्र रानाभाट बालबालिकाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिएका थिए । यसअघि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पनि अभिमूखिकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

Source:  http://onlineannapurna.com/archives/10336