मानवअधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणमा इन्सेकलाई कसैले चुनौती दिन सक्दैन : सहायक प्रजिअ बराल
आदर्श सञ्चार डटकम । २०८० असार १७ गते
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानवअधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा इन्सेकलाई कसैले चुनौती दिन नसक्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङले ०८० असार १५ गते सम्पन्न गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । इन्सेकले देशको मानवअधिकारको अवस्थाको बारेमा संकलन गरेको दस्तावेज वर्तमानमा मात्र नभएर भविश्यमा पनि अध्यन र अनुसन्धानका लागि लाभदायी हुने बताउनुभयो । इन्सेकले प्रलेखिकरणलाई जीवन्त राख्न सधै सम्वेदनिशल र जिम्मेवार हुनुपर्ने उहाँको भनाई थियो । मानवअधिकार सम्बन्धी पक्षराष्ट्र भएर दर्जनौ सन्धी सम्झौता गरेको सरकारले गर्नुपर्ने काम इन्सेकले गरेको भन्दै उहाँले राष्ट्र र राष्ट्रका नियकायहरु पनि यस विषयमा गम्भिर हुनुपर्ने बताउनुभयो । इन्सेकले महिला, बालबालिका, अपाङ्गता भएका र जेष्ठनागरिक माथी हुने हिंसालाई मात्र मानवअधिकारको दायरामा नराखी वैदेशिक रोजगारिको बहानामा हुने ठगी, ठुला निर्माण कम्पनीले कामदार माथी गरेको ज्यालामाथिको विभेद र अन्य विभेद, शिक्षा, स्वास्थ्य, खाद्य र अन्य अधिकारका विषयमा काम गर्नको लागि प्रदेशमा मात्र नभएर जिल्लामा पनि कार्यालय र कर्मचारी राखेर काम गर्न उहाँले सुझाव दिनुभयो ।
बागलुङ जिल्लालाई नागरिक मेत्री, मानवअधिकार मैत्री बनाउन जिल्ला प्रशासन कार्यालय प्रतिवद्ध रहेको उहाँको भनाई थियो । कार्यक्रममा बागलुङ जिल्लाका प्रहरी नायव उपरिक्षक मदन केसीले इन्सेकले तथ्याङ्क संकलनमा मात्र नभएर घटना न्यूनिकरणको पाटोमा पनि काम गर्नुपर्ने बताउनुभयो । देशको मानवअधिकार संर्वद्दन र प्रर्वद्दनमा राष्ट्रय मानव अधिकार आयोगको जत्तिकै इन्सेकको पनि महत्व र भूमिका कसैले नकार्न नसक्ने भन्दै उहाँले पीडितलाई जीविको पार्जनसँग जोड्न, सिप र क्षमताको अभिवृद्धि गर्नेसँगै घटना घटनै नदिनको लागि पनि इन्सेकको पहल हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, अधिवक्ता राम शर्मा, अधिकारकर्मी हुमा कुमारी जिसी अञ्जु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङ सचिव विजय राना, संकल्प नेपालका गण्डकी प्रदेश संयोजक सावित्री खड्का, अपाङ्गता सरोकार संघ बागलुङका अध्यक्ष चिजा थापा, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष लक्ष्मी बोहरा, पत्रकार प्रकाश बराल, डम्मर बुढा, मनोविमर्षकर्ता आशा घर्ती मगर लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा इन्सेक बागलुङले मानवअधिकार वर्ष पुस्तक २०२४ का लागि सन् २०२३ जनवरीदेखि जुनसम्म प्रलेख गरेका ४२ वटा घटना प्रस्तुत गरिएको थियो । जसमा १९ वटा घरेलु हिंसा, १२ वटा बलात्कार, ३ वटा बलात्कार प्रयास, ३ वटा हत्या, ३ वटा बहुविवाह, १ वटा अप्राकृतिक मैथुन र १ वटा सामाजिक साँस्कृतिक तथा आर्थिक अधिकारका रहेको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिनुभयो ।
Source: https://www.aadarshasanchar.com/tips/2023/07/02/50004/