मानवअधिकार वर्ष पुस्तकले ‘वाच डग’ को काम गर्ने : न्यायाधीश श्रेष्ठ
शक्तिखबर डटकम । २०७८ फागुन ९ गते
हेटौँडा, ८ फागुन । उच्च अदालत पाटन हेटौँडाका न्यायाधीश मेरिना श्रेष्ठले कानुनी ज्ञानको अभावमा पनि कतिपय घटनाहरु हुने गरेको बताउनुभएको छ । शनिबार हेटौँडामा मानवअधिकार वर्ष पुष्तक २०२२ सार्वजनिक तथा २०२१ को मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले अदालतमा यौन दुव्र्यवहार, बाल यौन दुव्र्यवहार, लागुऔषधमा बालबालिकाको प्रयोग भएको लगाएत मुद्धाहरुमा कमी आउन नसकेको उल्लेख गर्नुभयो । न्यायाधीश श्रेष्ठले इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तक एउटा दस्तावेज मात्र नभई राज्यलाई ‘वाच डग’ को रुपमा काम गर्ने विस्वास व्यक्त गनृुभयो । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले नेपालमा मानवअधिकारको अवस्था, बागमती प्रदेशमा मानवअधिकारको अवस्थाबारे उजागर गर्नुभयो । उहाँले विगत ३० वर्षदेखि इन्सेकले वर्ष पुष्तक प्रकाशन एवम् सार्वजनिक गर्दै आएको उल्लेख गर्नुभयो ।
यस्तै इन्सेक बागमती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले प्रदेशमा सन् २०२१ मा भएका मानवअधिकार उलंघन तथा ज्यादतीका घटनाको तथ्यांक प्रस्तुत गर्नुभयो । कार्यक्रममा गैसस महासंघ बागमती प्रदेशका उपाध्यक्ष आरती पाठकले इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तकले राज्यको ध्यानाकर्षण हुने विस्वास व्यक्त गर्नुभयो । उहाँले प्रमाणित हुन नसकेको कतिपय घटनाहरु गाउँघरमै मिल्ने गरेको उल्लेख गर्नुभयो । यस्तै बागमती प्रदेश प्रहरी कार्यालयका डिएसपी खड्ग खत्रीले हिरासतमा कसैको पनि मानवअधिकार उलंघन नहोस् भन्नका लागि विभिन्न तालिम दिने गरिएको स्पष्ट पार्नुभयो । उहाँले हिरासतमा कसैको मृत्यु भएमा हत्याको आशंका गरिए पनि त्यस्तो नहुने बताउनुभयो । कार्यक्रममा मकवानपुर प्रहरी इन्सपेक्टर चुँडा कुमारी खड्काले प्रहरीले पीडितलाई न्याय दिलाउने कुरामा प्रतिवद्ध रहेको बताउनुभयो ।
यस्तै राष्ट्रिय बाल संरक्षण सञ्जालका केन्द्रिय अध्यक्ष एवम् शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश संयोजक प्रकाश खतिवडाले मानवअधिकार वर्ष पुस्तकमा बालश्रम तथा आत्महत्याका विषयहरु पनि समावेश गर्न आग्रह गर्नुभयो । उहाँले कानुन बनेपनि कार्यान्वयनको पाटो भने फितलो रहेको उल्लेख गर्नुभयो । खतिवडाले बागमती प्रदेशमा ३० प्रतिशत बालबालिका मात्रै अनलाइनको पहूँचमा रहेको र अन्य ७० प्रतिशत बालबालिकालार्य अनलाईनमा सरकारले जोड्न नसकेको जिकिर गर्नुभयो । यसैगरि इन्सेक हेटौँडा उपमहानगरपालिका मानवअधिकार संयोजक चन्द्रावती पनेरुले राज्यले स्वास्थ्य अधिकारको क्षेत्रमा अझै पनि ध्यान दिन नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मानवअधिकार संगठन बागमती प्रदेश संयोजक एवम् अधिवक्ता अप्सरा बस्नेतले मानवअधिकार रक्षाका लागि इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तकले मार्गनिर्देश गर्ने बताउनुभयो । कार्यक्रममा शान्तीका लागि साझा अभियान कोक्याप नेपालका अर्जुन ढकाल, अधिवक्ता मदन दाहाल, अधिकारकर्मी जगन्नाथ सुवेदी, दिपेन्द्र पाठक लगाएतले मानवअधिकार रक्षाका लागि सबैको भूमिका महत्वपुर्ण हुने बताउनुभएको थियो । कार्यक्रममा २०२१ मा भएका मानवअधिकार उलंघन तथा ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पिडित भएको जानकारी गराइएको थियो । मानवअधिकार उलंघनका घटनामा ३४ जना महिला र २४९ जना पुरुष गरि जम्मा २८३ जना पीडित भएका छन् । यसैगरि ज्यादतीका घटनामा ८ सय ४२ महिला ४८ जना पुरुषसहित ८ सय ९० जना पीडित भएको इन्सेकको अभिलेखमा छ । यो संख्या गत वर्ष भन्दा ८१ जनाले बढी हो । अघिल्लो वर्ष मानवअधिकार उलंघन तथा ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका थिए । जसमा राज्य पक्षबाट २३८ जना र अन्य पक्षबाट ८५४ जना पीडित भएका थिए ।
यस वर्ष राज्य पक्षबाट हिरासतमा रहेका एकजना पुरुष सहित कारागारमा रहेका ५७ जनाको मृत्यु भएको छ । जसमा कोभिडको कारण पाँच जना बन्दीको मृत्यु भएको हो । यस्तै गिरफ्तारीको घटनामा १० जना, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकारमा ३४ जना महिला र १८१ जना पुरुष गरि २१५ जना पीडित भएका छन् । महिला विरुद्ध हुने सबै प्रकारका घटनामा बागमती प्रदेशमा ३८९ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ । यसैगरि बेचबिखन प्रयासका घटनामा ७ जना, घरेलु हिंसाका घटनामा ७० जना, कथित बोक्सी आरोपमा ५ जना, बलात्कारको घटनामा १८७ जना, बलात्कार प्रयासका ३३२ जना, यौन दुव्र्यवहारको घटनामा २६ जना र बेचबिखनको घटनामा ५ जना पीडित भएका छन् । यसैगरि बालअधिकार उलंघनका घटनामा ४२४ जना पीडित भएका छन् । जसमा बलात्कारका घटनामा ३०३, यौन दुव्र्यवहारको घटनामा १०७ जना, बालबालिका बेचबिखनमा ६ जना, बालबिबाह ५ र विद्यालयमा शारीरिक सजाय दिएको एउटा घटनामा १५० जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।यसैबिच वर्ष पुस्तक सार्वजनिकिकरण कार्यक्रममा सन् २०२१ मा मानवअधिकार अभिलेखको क्षेत्रमा बागमती प्रदेशमा उत्कृष्ट कार्य सम्पादन गर्ने सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धिताल सम्मानित हुनुभयो । उहाँलाई नगद सात हजार, प्रमाणपत्र तथा मायाको चिनो मार्फत् सम्मान गरिएको हो ।