मानव अधिकारका सवालमा एकजुट भएर काम गरौै : राजदूत लोरेन्जो

नेपालीरैबार डटकम । २०८१ मङ्सिर २१ गते

सुर्खेत । नेपालका लागि यूरोपियन यूनियन (इयु) का राजदूत भेरोनिक लोरेन्जोले मानव अधिकारका सवालमा एकजुट भएर काम गर्नुपर्ने बताएकी छन् । शुक्रबार वीरेन्द्रनगरमा इन्सेकले आयोजना गरेको कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका चुनौतीहरूबारे अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा इन्सेकले गर्दै आएको कामको प्रशंसा गर्दै अन्य सरकारी तथा गैरसरकारी निकायको समेत समन्वय र सहकार्य आवश्यक रहेको बताइन् । इन्सेकले मानव अधिकारका सवालमा काम गरिरहेको छ । राज्यको निकाय मानव अधिकार आयोग र सिएमसी जस्ता संस्थाले मानव अधिकारका सवालमा काम गर्दै आएका छन्, उनले भनिन्, सबैको एकता र सहकार्यले यो काममा सफलता पाइन्छ । उनले मानव अधिकारसँगै मानव अधिकार रक्षकको सवालमा समेत समन्वय र सहकार्य गर्न युरोपियन युनियन तयार रहेको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले प्रदेशको जटिल भूगोल र सीमित स्रोतसाधनका कारण यहाँ मानव अधिकार संरक्षणमा चुनौती रहेको बताए । उनले भने, कर्णाली प्रदेशमा मानव अधिकारको संरक्षणका लागि दीर्घकालीन योजनाको खाँचो छ । स्थानीय सरकार, संघीय सरकार र अन्तर्राष्ट्रिय समुदायले यसमा साझा प्रयास गर्नुपर्ने आवश्यकता छ ।
यूरोपियन यूनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक शिव भण्डारीले मानव अधिकारको संरक्षणका लागि जनचेतना अभिवृद्धि र नीति निर्माण प्रक्रियामा मानव अधिकारका एजेन्डाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशका नागरिकहरूलाई गरिबी, अशिक्षा, स्वास्थ्य सेवा अभाव जस्ता समस्याबाट मुक्त गर्न सशक्त प्रयास आवश्यक रहेको बताए ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले कर्णालीमा मानव अधिकार र मानव अधिकार रक्षकको अवस्थाको विषयमा जानकारी गराउँदै मानव अधिकार रक्षाका लागि सबै सरोकारवाला निकायहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनका अनुसार मानव अधिकार हनन्का घटनामा पीडितलाई न्याय दिन सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिकामा प्रभावकारिता आवश्यक छ ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले मानव अधिकार रक्षकहरूले कर्णाली प्रदेशमा सामना गर्नुपरेका चुनौतीहरू प्रस्तुत गर्दै मानव अधिकार रक्षकहरूलाई धम्की, सामाजिक बहिष्कार र मानसिक तनावको सामना गर्नुपरेकोले त्यसको संरक्षण र प्रवर्द्धनका लागि राज्यले उनीहरूलाई संरक्षण र सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय अपांग महासंघका प्रतिनिधि आनन्द विष्टले अपांगता भएका व्यक्तिहरूलाई कर्णाली प्रदेशमा भौतिक पहुँचदेखि लिएर सामाजिक सहभागितासम्म सबै क्षेत्रमा पछि पारिएको उल्लेख गरे । उनले भने, अपांगता भएकालाई समाजले सहानुभूतिका रूपमा हेर्छ तर यो पर्याप्त छैन । हाम्रो अधिकार सुनिश्चित गर्न सरकारको ठोस योजना र बजेट सुनिश्चित हुनुपर्छ । विष्टले अपांगता भएका व्यक्तिका लागि सहज यातायात, शिक्षामा पहुँच र रोजगारीका अवसरहरूमा प्राथमिकता दिनुपर्ने बताए । कर्णाली इन्द्रेणी आवाजकी जेनिशा नेपालीले कर्णाली प्रदेशमा यौनिक अल्पसंख्यक समुदायले भोग्नुपरेका सामाजिक र कानूनी समस्या प्रस्तुत गरिन् । हामीलाई अझै पनि समाजले स्वीकार्न सकिरहेको छैन । कानूनी रूपमा समान अधिकार भए पनि व्यवहारमा भेदभाव कायमै छ, उनले भनिन्, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा हाम्रो पहुँच सुनिश्चित गर्न सरकार र नागरिक समाजले विशेष योजना बनाउनुपर्छ ।

दलित गैरसरकारी संस्था महासंघ सुर्खेतका प्रतिनिधि मनबहादुर विकले जातीय विभेद अझै पनि कर्णाली प्रदेशमा गहिरो रूपमा विद्यमान रहेको बताए । संविधानले छुवाछूत उन्मूलन गरेको छ तर व्यवहारमा यो लागू भएको देखिँदैन । दलित समुदायका सदस्यहरू अझै पनि सामाजिक, आर्थिक र शैक्षिक रूपमा पछाडि पारिएका छन् । जातीय विभेद अन्त्यका लागि सचेतना कार्यक्रम र कडा कानूनी कार्यान्वयन आवश्यक छ, उनले भने । मानव अधिकारका लागि महिला, एकल महिला समुहकी सुर्खेत अध्यक्ष ममता नगालले द्वन्द्वकालमा प्रभावित भएका पीडितहरूको न्यायको सवालमा राज्यले ध्यान दिनुपर्नुे बताइन् । सङ्क्रमणकालीन न्याय प्रक्रियामा ढिलाइले गर्दा पीडितहरू अझै पनि न्यायको पर्खाइमा छन्। पीडितहरूको आवाजलाई सुनुवाइ गर्न, परामर्श सेवाहरू उपलब्ध गराउन र क्षतिपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्छ, उनले भनिन् ।

सिसिआरसीका प्रमुख टेक आचार्यले बालबालिकाका अधिकारको सवालमा कर्णाली प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेको बताए । उनले बालबालिका अझै पनि श्रम गर्न बाध्य भएको भन्दै शिक्षा प्रणाली सुधार, पोषणयुक्त भोजन र बालश्रम उन्मूलनका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए । मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी संयोजक शर्मिला बिसीले महिला मानव अधिकार रक्षकहरू दोहोरो चुनौती झेलिरहेको बताउँदै महिला भएकै आधारमा भेदभाव, कामका कारण धम्की र दुर्व्यवहार भएको औंल्याइन् । उनले महिला मानव अधिकार रक्षकहरूलाई सुरक्षित वातावरण प्रदान गर्न राज्य जिम्मेवार हुनुपर्ने बताइन् ।

दलित महिला संघ सुर्खेतकी सचिव खगिसरा वलीले महिलाभित्र पनि दलित महिलाको अधिकारको सवालमा कर्णालीमा हिंसा, शिक्षा अभाव, र स्वास्थ्य सेवामा पहुँचको समस्यालाई जोड दिइन् । उनले भनिन्, महिलाहरूको आर्थिक सशक्तीकरण बिना समानता सम्भव छैन । राज्यले सीपमूलक तालिम, रोजगारीका अवसर र सुरक्षित मातृत्व सेवामा प्राथमिकता दिनुपर्छ ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूले आफ्ना अनुभवहरू समेत सुनाएका थिए । उनीहरूले कर्णालीको भौगोलिक विकटता, आर्थिक असमानता र चेतनाको अभावका कारण मानव अधिकारका मुद्धाहरू सम्बोधन गर्न कठिनाई भएको बताएका थिए। कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, विद्यार्थी, कानुन व्यवसायी र अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले प्रदेश सरकार र संघीय सरकारसँग मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि ठोस नीति र कार्यान्वयनको माग गरेका छन् ।

Source: https://nepaliraibar.com/2024/12/80807/