मानव अधिकार उल्लङ्घनका घटनामा पाँच सय चार जना पीडित
रेडियो गुर्खाली डटकम । २०८१ फागुन ८ गते
गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घनका घटनामा पाँच सय चार जना पीडित भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सन्दर्भमा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का गण्डकी प्रदेशका प्रमुख शिव खकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मानव अधिकार उल्लङ्घनका घटनामा चार सय २९ जना महिला पीडित रहेको छ, ७५ जना पुरुष पनि मानव अधिकार उल्लङ्घनका घटनामा पीडित रहेको छ । गत वर्ष सन् २०२३ मा राज्य पक्षबाट पाँच जना पुरुष र अन्य पक्षबाट पाँच सय ४८ जना महिला र ६३ जना पुरुष गरी ६ सय १६ जना पीडित भएकोमा गत वर्षको तुलनामा यस वर्ष एक सय १२ जनाले कमी भएको खकुरेलले बताउनुभयो । बालबालिका तथा महिलामाथि हुने हिंसाका घटना बढी रहेको र महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छ । घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका घटना भएको इन्सेकको अभिलेखमा छ । बालिका तथा महिलामाथि हुने हिंसाका घटना समुदाय तथा प्रहरी कार्यालयमा मिलापत्र गरिने, बलात्कार तथा यौन दुव्र्यवहारका घटनाका आरोपितलाई धरौटीमा रिहा गर्दा पीडित कानुनी उपचारबाट वञ्चित हुनुपरेको इन्सेकको दाबी छ ।यसवर्ष राज्यपक्षवाट कुनै घटना नभएको उहाँको भनाइ छ । राज्य पक्ष बाहेक अन्य पक्षबाट भएका घटनामा परिवारका सदस्यबाट हत्या गरिएको घटनामा १० जना, बेचबिखनमा एक जना, बलात्कारका घटनामा ४५ जना, बलात्कारपछि हत्यामा एक जना, बलात्कारको प्रयासमा दुई जना, साइबर अपराधमा दुई जना, बहुविवाहमा ११ जना, घरेलु हिंसाका घटनामा दुई सय १७ जना गरी दुई सय ९० जना महिला पीडित भएका छन् ।
Source: https://radiogurkhali.com/news-details/5522/2025-02-20