








भक्तपुर, ७ फागुन । वागमती प्रदेशमा यसवर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमि आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अभिलेख अनुसार सन् २०२० मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका छन् । यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा १९ जना महिला र २ सय १९ पुरष गरी जम्मा २ सय ३८ जना तथा ज्यादतीका घटनामा ७ सय ८२ जना महिला, ७१ जना पुरुष, एक तेस्रो लिङ्गीसहित जम्मा ८ सय ५४ जना पीडित भएका छन् । इन्सेक वागमती प्रदेशका अनुसार यो सङ्ख्या गत वर्षभन्दा ४ सय २ जनाले कमी हो । इन्सेकका अनुसार यस वर्ष राज्यपक्षबाट एक जनाको हत्या भएको छभने यातनाका घटनामा ४ जना, गिरफ्तारीका घटनामा १ सय ६ जना, जातीय विभेदका घटनामा ४ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ५६ जना, धम्कीका घटनामा ६ जना र कुटपिटका घटनामा ४० जना पीडित भएका छन् । सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ४ सय ९४ जना पीडित भएको इन्सके वागमती प्रदेश संयोजक कृष्ण गौतमले जानकारी दिनुभयो । सन् २०२० मा कोभिड महामारीका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सबै घटनाहरू कानूनी प्रक्रियासम्म नआइपुगेको साथै घटनाहरूको अनुगमन तथा प्रलेख गर्ने कार्यमा समेत बाधा पुगेकाले घटनाहरूको सङ्ख्यामा कमी आएको आँकलन गरिएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका दुव्र्यवहार घटनामा सन् २०२० मा यस प्रदेशमा ४ सय १९ जना पीडित भएको अभिलेख भयो । यस वर्ष बेचबिखनका प्रयासका घटनामा ५ जना, घरेलु हिंसाका घटनामा ७० जना, कथित बोक्सीको आरोपमा ८ जना, बलात्कारका घटनामा २ सय १० जना, बलात्कार प्रयासका घटनामा ३४ जना, यौन दुव्र्यवहारको घटनामा ११ जना र बेचबिखनका घटनामा ५ जना महिला पीडित भएको इन्सेक अभिलेख अभिलेखमा उल्लेख गरिएको छ ।
परिवारजनबाट महिला मारिएका केही घटनामा पीडितपक्षले हत्याको आरोप लगायो भने आरोपित पक्षले आत्महत्या गरेको भनी बताएको पाइयो । पोष्टमार्टम रिपोर्टमा आत्महत्या देखिएको भन्दै प्रहरीले उजुरी नै नलिएका घटना पनि पाईएका छन् । यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ३० जना पीडित भए । जसमध्ये बलात्कारका घटनामा २ सय ३५, यौन दुव्र्यवहारको घटनामा ६ जना बालक सहित ८७ जना, बालबालिका बेचबिखनमा ८ जना, नवजात शिशु हत्या पाँच जना, बालबिवाहका तीन र विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा २ जना बालबालिका पीडित भएको इन्सेक वागमती प्रदेशका संयोजक गौतमले जानकारी दिनुभयो । बालश्रम, बालबालिका ओसारपसार, बेचबिखन, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित जस्ता बाल अधिकार हनन्बाट बालबालिका पीडित भएको पाइएको छ । धेरैजसो विद्यालय भवन बालमैत्री नभएको, छात्राहरूका लागि शौचालयको उचित व्यवस्था नभएको, अत्यन्त न्यून सङ्ख्यामा मात्रै अपाङ्गमैत्री विद्यालय रहेको पाइएको छ । इनसेक वाग्मति प्रदेशका अनुसार निःशुल्क शिक्षाको विषय व्यवहारमा लागू भएको पाइएन भने सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुल गरेको पाइयो । त्यस्तै उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायमै रहेको, धेरैजसो बालविवाहका घटना प्रहरीसम्म नआएको पाइएको छ । विद्यालयमा दिइने शारीरिक दण्डका घटना भएपनि सबैजसो घटना मेलमिलापमा टुङ्गिएको पाइएको छ ।कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल नभएको, क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएको पाइएको छ । सशस्त्र द्वन्द्वको समाप्ती भएको लामो समय बितिसक्दासमेत सङ्क्रमणकालीन न्यायका सवाल जस्ताका तस्तै रहेको र त्यससम्बन्धमा खासै प्रगति हुन नसकेको छपाइएको छ ।
सन् २०१९ को मानव अधिकार अवस्था :
सन् २०१९ मा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ४ सय १४ जना पीडित भएको इन्सेकले अभिलेख गरेको थियो । गिरफ्तारका घटनामा १ सय ६८ जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा १२ जना, जातीय विभेदका घटनामा २१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ७ सय ४७ जना, यातनाका घटनामा सात जना, बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ७६ जना पीडित भएको अभिलेख भएको थियो ।