मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि समीक्षा

सूर्या अनलाइन डटकम । २०८१ पुस ७ गते

कालिकोट । मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि पूर्वसमीक्षा कार्यक्रम गरिएको छ । ईन्सेक प्रतिनिधि कालीबहादुर मल्लको अध्यक्षता, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा विभिन्न पार्टीका प्रमुख प्रतिनिधिहरुको आतिथ्यमा कार्यक्रम भएको छ ।

कालिकोट जिल्लाका ९ वटा स्थानीय तहमा भए गरेका विभिन्न मानव हिंसा तथा अन्य घटना समावेश गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि पूर्वसमीक्षा गरिएको हो । ईन्सेक प्रतिनिधि मल्लका अनुसार यो पुस्तक मानव अधिकारको अवस्था र घटनाहरूलाई वार्षिक रूपमा समेट्छ । यसले सो वर्षका मुख्य मानव अधिकारसम्बन्धी मुद्दाहरू र घटनाहरूलाई उजागर गर्ने मल्लले बताए ।

पुस्तकमा मानव अधिकार उल्लंघनका घटनाहरूको तथ्यांक र डाटा समेटी प्रकाशन गरिने भएकाले यो समीक्षा जरुरी रहेको मल्लको भनाई छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले मानव अधिकार वर्ष पुस्तकले नेपालको विभिन्न क्षेत्र र समुदायमा भएका मानव अधिकारसम्बन्धी घटनाहरूको विस्तृत विवरण दिने भएकाले पुस्तक प्रकाशन पूर्व यो समीक्षा महत्त्वपूर्ण रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रहरी निरिक्षक गोविन्द चौधरीले यो पुस्तक मानव अधिकारको क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ता, वकिल, तथा मानव अधिकार संस्थाहरूको लागि महत्त्वपूर्ण स्रोत रहेको बताए । यसमा स्थानीय मुद्दाहरू मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा पनि मानव अधिकारका घटनाहरूलाई जोडेर पुस्तक प्रकाशन हुने प्रहरी निरिक्षक चौधरीले बताए ।

नेकपा एमाले कालिकोटका पार्टी उपसचिव पवित्रकुमार शाहीले मानव अधिकार वर्ष पुस्तक अति महत्त्वपूर्ण रहेको बताए । स्थानीय तहमा रहेका न्यायिक समितिमार्फत पनि उनले थुप्रै घटना संकलन गर्न सकिने बताए । यस पुस्तकका कारण थुप्रै घटनामा कमी भएको र नागरिकले न्याय पाएको पार्टी उपसचिव शाहीले बताए ।

यो पुस्तकले तटस्थ र स्वतन्त्र रूपमा मानव अधिकारको मूल्यांकन गर्ने प्रयास गरेको पत्रकार खडानन्द अधिकारीले बताए । नेपाल पत्रकार महासंघ कालिकोटका कोषाध्यक्ष विश्वनाथ सिम्खाडाले मानव अधिकार वर्ष पुस्तककै कारण विभिन्न पीडितले न्याय पाएको बताए ।

नेपाल मानव अधिकार वर्ष पुस्तकहरू खासगरी मानव अधिकारसम्बन्धी जागरण, नीति सुधार, र अनुसन्धानको क्षेत्रमा ठूलो योगदान पुर्याउने स्रोतका रूपमा स्थापित भएको पत्रकार महासंघका सदस्य हस्त चौलागाँईले बताए । कार्यक्रममा जिल्लास्थित मानव अधिकार कर्मी, पत्रकार तथा अन्य नागरिक समाजको उपस्थिति रहेको थियो । ईन्सेक नेपालको आयोजनामा कार्यक्रम भएको थियो ।

Source: https://www.souryaonline.com/2024/12/630451.html