मानव अधिकार संरक्षण र सम्बर्द्धनमा अधिकारकर्मी र सञ्चारकर्मीबिच सहकार्य हनुपर्नेमा सरोकारवालाको जोड

बाँके । २०७८ असार १५ गते

मानव अधिकार संरक्षण र सम्बर्द्धनमा अधिकारकर्मी र सञ्चारकर्मीबिच सहकार्य हनुपर्नेमा बाँकेमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्ज र नेपाल पत्रकार महासङ्घ बाँकेको संयुक्त आयोजनामा असार १४ गते आयोजित लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रममा नेपाल बार एशोसिएशनका बरिष्ठ उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले उक्त कुरामा जोड दिनु भएको हो । उपाध्यक्ष श्रेष्ठले कोभिड सङ्क्रमणको पूर्व तयारी हुन नसक्दा दोस्रो लहरको कोभिडबाट धेरैले ज्यान गुमाउनु परेको बताउनु भएको छ ।

पत्रकार र मानव अधिकारकर्मीहरूबिच समन्वय र सहकार्य भए सार्वजनिक सरोकारका विषय र आम नागरिकलाई न्यायको पहुँचमा पुर्‍याउन मद्दत पुग्ने उहाँको धारणा छ ।इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले पत्रकार र अधिकारकर्मीबिच विगत सशस्त्र द्वन्द्वको समयमा  हुने गरेको समन्वय र  सहकार्य हिजोआज हुन नसकेको बताउँदै पीडितको अधिकार स्थापित गर्न सहकार्य आवश्यक रहेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारीले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा मानव अधिकारकर्मी र पत्रकारहरूले संयुक्त रुपमा कार्य गर्न सके पीडितलाई न्यायको पहुँचसम्म पुर्‍याउन सजिलो हुने बताउनु भयो । उपभोक्ता हित संरक्षण समितिका जिल्ला अध्यक्ष अधिवक्ता बसन्त गौतमले नागरिकहरूले प्रभावकारी रुपमा स्वास्थ्य अधिकार उपभोग गर्न नपाउँदा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या बढेको बताउनु भयो । उहाँले नागरिकहरूको न्यायमा पहुँच भएनभएको विषयलाई पत्रकारहरुले बाहिर ल्याउन सके न्यायबाट वञ्चित भएका पीडितहरूलाई न्यायका लागि पैरवी गर्न मद्दत पुग्ने बताउनु भयो । उच्च अदालत बार एशोसिएशन बाँकेका पुर्व अध्यक्ष विकास आचार्यले समाचार प्रकाशन गर्दा सत्य, तथ्यमा आधारित हुनुको साथै सम्बन्धित निकाय र व्यक्तिमार्फत पुष्टि गर्न आवश्यक रहेको बताउनु भयो ।

स्मृति देवकोटा