मानव अधिकार समूहको बैठक सम्पन्न गौरीगंगा नगर स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
कैलाली खबर डटकम । २०८२ जेठ ५ गते
सुखड । कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालामा शुक्रवार गौरीगंगा नगर स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । डिसीए परियोजनाको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा समूहको बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार समूहलाई सुस्त नहुन र गाउँ घरमा हुने उत्पीडन, शोषण, हिंसा र ज्यादती गर्ने र गराउने कुरामा आवाज उठाउनु पर्ने उनले बताए । नगरपालिका भित्र मानव अधिकार शिक्षा, सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार, सरसफाइ, जनचेतना मूलक सडक, लगायतका काम गरेर सचेतना र जिम्मेवार निकायलाई जबाफदेही बनाउँदै जानु पर्नेमा उनको भनाई थियो ।
समूहले सङ्गठित भएर जनताका जायज कुराहरू उठाएर स्थानीय सरकारलाई झकझकाउन उनले आग्रह गरे । उनले प्रत्येक मानिसको सुरक्षा र अधिकार प्रत्याभूत गर्ने गराउने दायित्वबाट विमुख नहुन आग्रह गरे । इन्सेक र सिटिभिटीद्धारा मानव अधिकार रक्षक सम्बन्धी तालिम सञ्चालन हुने कुराको जानकारी समेत उनले गराएका थिए । स्रोत व्यवस्थापन गर्न मानव अधिकार समूह लाग्नु पर्ने उनले बताए ।
समूहका सदस्य तेज बहादुर चौधरीले सामुदायिक विद्यालयमा भर्नाको बारेमा सम्बन्धी निकायमा गएर पैरवी गरेको बताए । जसले गर्दा विद्यार्थीहरूलाई केही मात्रमा सहज भएको उनले बताए । यस्तो काम समुह मार्फत गर्दा अझ राम्रो हुने चौधरीले बताए ।
समूहका अर्का सदस्य सुमन सिलाधरले जातीय विभेद र घरेलु हिंसाको विषयमा आवाज उठाउने र न्याय दिने काममा आफूले गरिरहेको उनले बताउनु भयो । विभिन्न हिंसा पीडित महिलाहरूको न्यायको लागी आफू लागी परेको उनको भनाई छ ।
समूहका अर्का सदस्य माया जोगीले अन्यायमा परेका महिला दिदी बहिनीहरूको न्यायको लागी पैरवी र वकालत गर्ने काम काम गरिरहेको उनले बताउनु भयो । जसले गर्दा महिला दिदी बहिनीहरूले न्याय पाएको उनको धारणा रहेको थियो । गाउँ घरमा हुने घरेलु हिंसा वा अन्य विभिन्न घटनामा कोही व्यक्ति अन्याय पर्दा आफूले आवाज उठाउने गरेको उनले बताउनु भयो ।
गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक टेकराज ओझाले समूह गठनपछि अधिकारका क्षेत्रमा धेरै सुधार भएको उनको भनाई छ । समूहका सदस्यहरूलाई सक्रिय रुपमा काम गर्न र अन्यायको विरुद्धमा सशक्त भएर लाग्न उनले आग्रह गरे ।
HUMAN RIGHTS NEWS PORTAL






