मानव अधिकार समूहद्वारा नगरप्रमुख रावतलाई ध्यानाकर्षण पत्र बुझायो
कैलाली खबर डटकम । २०८१ असार ५ गते
०४ असार,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा खानेपानीको व्यवस्था तत्काल समस्या समाधान गर्न नगर स्तरीय मानव अधिकार समूहले नगर प्रमुख खडक बहादुर रावतलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहले विद्यालयमा खानेपानीको अभावका कारण शिक्षक र विद्यार्थीहरू खानेपानी बाट वञ्चित भएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेको छ ।
विद्यालयमा भएको नल्का तथा धारा बाट पानी आउन छाडे पछि खानेपानीको समस्या सृजना भएको हुँदा यसको दिर्गकालिन समस्या समाधान गर्न घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहले आग्रह समेत गरेको छ । खानेपानी अभावका कारण सो विद्यालयमा अध्ययनरत ५२० जना बालबालिका तथा शिक्षकहरू खानेपानीको समस्यामा परेका छन् ।
पानीको अभावका कारण विद्यार्थी र शिक्षक शिक्षिकाहरूलाई शौचालयमा समेत कठिनाइ भइरहेको छ । प्यास लागे प्रायः विद्यालय नजिकै भएको गाउँघरमा गएर पानी पिउने तथा कतिपयले त आफ्नै घर बाट किताब सँगै पानीका बोतल विद्यार्थीहरूले ल्याउने गरेका छन् । उक्त ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख खडक बहादुर रावतले जति सक्दो चाँडो समाधान गर्न नगरपालिका तत्पर रहेको उनले बताए ।