मानव अधिकार समूहद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र

धनगढी खबर डटकम । २०८० कात्तिक २३ गते

धनगढी । शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्यालाई समाधान गर्नु पर्ने राख्दै कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहले  ध्यानाकर्षण-पत्र बुझाएका छन् । मानव अधिकार समूहले बुधवार कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐरलार्ई ध्यानाकर्षण-पत्र बुझाएको हो । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौँ राष्ट्रिय कार्य योजना अनुरूप जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौँ राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृत ऐरलाई ध्यानाकर्षण-पत्र बुझाइएको हो ।

अनिवार्य, निःशुल्क, सुरक्षित र गुणस्तरीय प्राविधिक शिक्षा लागु गर्नु पर्ने, नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधि निःशुल्क वितरण गर्नु पर्ने, वातावरण संरक्षणमा गाउँपालिकाले नीति बनाएर कार्यान्वयन गर्नु पर्ने र समाजमा व्याप्त जातीय विभेद, लैङ्गिक हिंसा जस्ता समस्यालाई नीति तथा कानुन बनाएर समाधान गर्नु पर्ने ध्यानाकर्षण-पत्रमा उल्लेख गरिएको छ । कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐरले मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकोले जनताको समस्या समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरी, सचिव ज्ञानु चौधरीलगायतको टोलीले प्रमुख प्रशासकीय अधिकृत ऐरलाई ध्यानाकर्षण-पत्र बुझाएका हुन् । 

Source: https://dhangadhikhabar.com/news/66204